धार्मिक तथा पर्यटकीय महत्व बोकेको क्षेत्र त्रिवेणीधाममा धार्मिक पर्यटकको आगमन बढेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ मा पर्ने त्रिवेणीधाम (त्रिवेणी क्षेत्र) गण्डकी प्रदेशकै एक महत्वपूर्ण तीर्थस्थल हो । एक महिनाअघि भारतसँगको सीमानाका खुला भएपछि  भारतबाट धार्मिक पर्यटकको आगमन बढेको हो ।

पहिलो र दोस्रो लहरको कोभिडका कारण यहाँ भक्तजनको आगमन प्रभावित बनेको थियो । दोस्रो लहरको कोभिड सङ्क्रमण कमी आए पनि भारतसँगको सीमानाका बन्द रहेका कारण त्रिवेणी क्षेत्र सुनसान बनेको तर नाका खुलेसँगै भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको गजेन्द्रमोक्ष दिव्यधाममा उत्तराधिकारी कृष्ण प्रपन्नाचार्यले जानकारी दिए  ।कृष्ण प्रपन्नाचार्यले दिनुभएको जानकारीअनुसार भारतसँगको सीमानाका खुलेपछि दैनिक ५०० हाराहारीमा त्रिवेणीधाममा दर्शन र घुम्नका लागि आउने गरेका छन् ।

त्रिवेणीधाममा आउने धार्मिक पर्यटकमा अधिकांश भारतीय रहने गरेका छन् । त्रिवेणी पुग्ने नेपालीको सङ्ख्या निकै कम हुने गरेको छ । कृष्ण प्रपन्नाचार्यका अनुसार त्रिवेणीमा आउने पर्यटकमा ६५ प्रतिशत भारतदेखि र ३५ प्रतिशत नेपाली छन् । पछिल्लो समय नेपालतर्फबाट आउने बाटोघाटो बिग्रेका कारण टाढाबाट आउने नेपालीको सङ्ख्यामा कमी आएको छ । नजिकै पायक पर्नेहरू मात्रै त्रिवेणी पुग्ने गरेका छन् ।

त्रिवेणीधामको दर्शन गर्नकै लागि भनी टाढादेखि आउने  नेपालीहरूको सङ्ख्यामा कमी हुँदै गएको कृष्ण प्रपन्नाचार्यले बताए । “नेपालतिरबाट बाटो असहज हुँदा कम धार्मिक पर्यटक आउने गर्छन, भारतको नाका खुलेपछि उल्लेख्य मात्रा भारतीय पर्यटक यहाँ आउने गरेका छन्”, प्रपन्नाचार्यले भने, “६५ प्रतिशत त भारतबाट धार्मिक पर्यटक आउने गरेका छन् ।”यहाँ शनिबार र आइतबार पर्यटक बढी आउने गर्दछन् । माघे औँसी, साउन महिनाको सोमबार, नयाँ वर्षजस्ता विषेश पर्व र विषेश दिनमा यहाँ २० हजारसम्म भक्तजन तथा पर्यटकको आगमन हुने गरेको कृष्ण प्रपन्नाचार्यले जानकारी दिए ।

पछिल्लो समय यहाँ पर्यटकको मुख्य आकर्षण बनेको छ सिसमहल । सिसमहलले त्रिवेणीको नामै परिवर्तन गरेको प्रपन्नाचार्य बताए। अहिले सिसमहल भएको ठाउँ भनेर त्रिवेणी चिनिन थालेको उनी बताउछन् । सिसमहलको भित्री भागमा  सिसाको पर्खाल बनाइएको छ । यहाँभित्र प्रवेश गर्दा एकै व्यक्तिका धेरै आकृति देखिन्छन् । महलभित्र आकर्षक राधाकृष्ण भगवान्को मूर्तिसमेत राखिएको छ । सिसमहल अवलोकनका लागि सामान्य शुल्क राखिएको छ । धामको खर्च व्यवस्थापनका लागि सिसमहल मुख्य स्रोत बनेको प्रपन्नाचार्यले बताए ।

यस्तै यहाँको अर्को आकर्षण नारायणी नदीमा डुङ्गा शयर बनेको छ । नारायणी नदीको मनोरम दृश्यावलोकन गर्दै डुङ्गामा शयर गरी पर्यटकले रमाइलो गर्ने गर्छन् भने यहाँका मानिसको आयस्रोतको माध्यमसमेत बनेको छ । तीन नदी नारायणी (गण्डकी), सोनाभद्र र पूर्णभद्रको सङ्गमस्थल भएकाले यस क्षेत्रको नाम त्रिवेणी रहन गएको हो ।यहाँ विभिन्न धार्मिक मठमन्दिरसँगै मनोरम दृश्यावलोकन गर्न पाइने हुँदा यहाँ पुग्न जो–कोहीको मनमा शान्ति र आनन्दित हुने गर्दछ ।

 

धाम क्षेत्रमा निर्माण गरिएका विभिन्न मठमन्दिरले यहाँको सुन्दरतालाई बढाएको छ । गजेन्द्रमोक्ष दिव्यधाममा आएका पर्यटकलाई वैदिककालीन कला र सभ्यता झल्कने किसिमले निर्मित मन्दिर परिसरमा विभिन्न दृश्यले लोभ्याउने गरेको छ । छ बिघा क्षेत्रफलमा फैलिएको गजेन्द्रमोक्ष दिव्यधाम परिसरमा विभिन्न कला, संस्कृति, आगमशिल्प, तन्त्रशिल्पको विधिबाट निर्मित गजेन्द्रमोक्ष नारायण मन्दिर, अष्टकोणात्मक प्यागोडा शैलीमा निर्मित सिसमहल आदिले यहाँको गरिमा र महत्व अझै बढाएको छ ।

अनन्तश्री विभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमल नयनाचार्य श्रीजी महाराज (मुक्तिनाथबाबा)को सक्रियतामा धाम परिसरमा गजेन्द्रमोक्ष नारायण मन्दिर, पाठशाला, गजेन्द्रमोक्ष कामधेनु गौशाला, धर्मशालालगायत विभिन्न संरचना निर्माण गरिएको छ । गजेन्द्रमोक्ष धामसहित यस आसपासमा माता सीताको पाताल प्रवेश भूमि, बाल्मिकी आश्रम, महर्षि वाल्मिकीले आदि काव्य वाल्मिकी रामायण लेखेको स्थान, लव र कुशको जन्मभूमि आदि यहाँका धार्मिक पर्यटकीय गन्तव्य हुन् ।रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय