थ्री स्टार क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार छिमेकी क्लब च्यासल युथ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले सानदार सुरुआत गरेको हो ।

थ्री स्टारको जितमा निशान खड्का, राफायल बिडीयास रिम र अनन्त तामाङले एक एक गोल गरे । थ्री स्टारले पहिलो हाफमै दुई गोल गरेको थियो । खेलको २२ औं निशानले गोल गर्दै थ्री स्टारलाई सुरुआती अग्रता दिलाएका थिए । करिब ३० यार्डबाट निशानले फ्रिकिकबाट उत्कृष्ट गोल गरे ।

यान्निक केचाले सन्जोग राईलाई फउल गरेपछि थ्री स्टारले फ्रिकिकको मौका पाएको थियो । जसलाई निशानले सदुपयोग गरे । जितसँगै थ्री स्टारले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । खेलको म्यान अफ दि म्याच थ्री स्टार निशान खड्का चुनिए ।

यस अघि आजै भएको खेलमा संकटा क्लबले हिमालयन शेर्पा क्लबसँग बराबरी खेल्दै अंक बाडेको छ । संकटाले हिमालयनसँग १–१ गोलको बराबरी खेलेको हो । लिग अन्तर्गत आइतबार दुई खेलहरु हुने छन् । पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले एपीएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबले जावलाखेल युथ क्लबसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय