कपिलवस्तुमा फैलिएको हैजा एक महिनासम्म नियन्त्रणमा आएको छैन । हैजा नियन्त्रका लागि विभिन्न प्रयास गरिए पनि सफल नभएपछि सरकारले प्रभावित क्षेत्रमा हैजाविरुद्धको खोप दिने तयारी थालेको छ ।

लुम्बिनी प्रदेशको कपिलवस्तुको कृष्णनगरपालिका ७, ८, र ९ मा गत असोज १८ गते देखि हैजा फैलिएको छ । त्यहाँ हालसम्म १३ सय ६४ जनामा हैजाको लक्षण देखिएको स्वास्थ्य मन्त्रालको तथ्यांक छ । हैजा नियन्त्रणका लागि गरिएका विभिन्न प्रयास असफल भएपछि सरकारले हैजा विरुद्धको खोप दिने तयारी थालेको छ । जसका लागि स्वास्थ्य मन्त्रालयले दुई लाख ५२ हजार तीन सय ६३ मात्रा ओरल कलेरा भ्याक्सिन प्रभावित क्षेत्रमा दिने योजना बनाएको छ ।

सरकारले हैजा प्रभावित क्षेत्रको कृष्णनगरमा ६० हजार सात सय ४३ जना, महाराजगन्जमा ५३ हजार एक सय ५६ जना, शिवराजमा ६४ हजार सात सय ७८ जनालाई खोप दिँदै छ । यसैगरी विजयनगरमा ३५ हजार नौ सय तीन जना र यशोधारामा ३७ हजार सात सय ८३ जनालाई खोप दिने सरकारको योजना रहेको छ । हैजा प्रभावित क्षेत्रमा हैजाविरुद्धको खोप दुई मात्रा दिइने मन्त्रालयले जनाएको छ ।

नेपालमा शुद्ध खानेपानी व्यवस्थापनमा कमी, सरसफाईमा कमी जस्ता कारणले हैजाको जोखिम बढेको विज्ञको बुझाई छ । पछिल्लो समय कोरोना संक्रमणसंगै हैजा संक्रमण समेत देखिएकाले महामारीजन्य रोग नियन्त्रणमा थप चुनौति थपिएको छ । जसका लागि महामारीजन्य सरुवा रोगबारे जनचेतना फैलाउन आवश्यक देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय