स्थानीय तहमा उपभोक्ता समितिमार्फत् हुने विकास निर्माणका काममा लागतभन्दा प्रगति बढी हुने गरेको पाइएको छ । कम लागतमै निकै उच्चस्तरीय कामहरु उपभोक्ता समितिमार्फत् भएका छन् । जसको नमूना बनेको छ काभ्रे तेमाल गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालय भवन ।

केन्द्रीय आयोजनाहरुमा बजेट खर्च भइसक्दा आधा काम हुन पनि मुस्किल छ । योजनाअनुसार काम गर्न नसकेर अलपत्र परेका योजनाहरु त कति छन् कति ? योजना बनाउने तर कार्यान्वयन नहुने समस्याले मुुलुक नै आक्रान्त बनेको छ ।

तोकिएको समयमा समयमा निर्माण कार्य सम्पन्न नहुँदा लागत पनि दोब्बर, तेब्बर हुने गरेको छ । तर, काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर ६ ठूलोपर्सेलमा भने उपभोक्ता समितिमार्फत् कम लगतमा नमूना वडा कार्यालय बनेको छ ।

चिटिक्क परेको दुई तले वडा कार्यालयमा सात वटा कोठा रहेका छन् । भवनमा मिटिङ हल, प्रशासनिक शाखा, जनप्रतिनिधिको कार्यकक्ष, सामुदायिक मेलमिलाप केन्द्रदेखि पाहुना कक्षसमेत व्यवस्थित रुपमा रहेको छ । कम लागतमा उच्चस्तरीय वडा कार्यालय निर्माण भएपछि स्थानीयवासीले समेत निकै प्रशंसा गरेका छन् ।

ठूलो पर्सेलमा स्थानीय जनप्रतिनिधि आएपछि वडा कार्यालय मात्र होइन, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक र खेलकुदको क्षेत्रमा समेत निकै प्रगति भएको छ । केन्द्र सरकारले विकास बजेट खर्च गर्न नसकेर आलोचना खेपिरहेको अवस्थामा वडा तहमा उपभोक्ता समितिमार्फत् भएका काम भने निकै सन्तोषजनक रहेको छ ।

स्थानीयवासीको प्रत्यक्ष संलग्नतामा हुने काममा राज्यले बजेट अझै बढाइदिए ग्रामीण क्षेत्रका समस्या समाधान र विकास निर्माणमा निकै ठूलो टेवा पुग्ने देखिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय