बेमौसमी वर्षाका कारण कञ्चनपुर जिल्ला लगायत देशका विभिन्न स्थानमा बाढी, पहिरो, डुबान, कटानका घटना भएका छन् । उक्त विपदबाट ठूलो जनधनको क्षति समेत भएको छ । कृषिका लागि उर्वर भूमि मानिने पश्चिम तराईको कञ्चनपुर जिल्लामा पनि बाढी र ढुवानले अत्यधिक क्षति पुर्याएको छ । काटेर खेतमै राखिएको र काट्न बाँकी धानबाली खेतमै उम्रिन थालेको छ ।

असोज ३१ गते साँझ देखि चार दिनसम्म अविरल रुपमा परेको बेमौसमी वर्षाका कारण कञ्चनपुर जिल्लामा मानवीय क्षति नभएपनि भौतिक र कृषि क्षेत्रमा भने ठूलो क्षति भएको छ । कृषि क्षेत्रमा कृषकहरूले लगाएको धान बाली, तरकारी, दलहन, तेलहन र उखु बाली तथा पन्छीजन्य बस्तुहरू समेतको क्षति भएको छ । काटेर खेतमै राखिएको र काट्न बाँकी धानबाली डुबानमा परी यतिबेला खेतमै उम्रिन थालेको छ ।

धानबाली रोपाँइ गरेदेखि काट्नका लागि तयार हुने बेलासम्म मौसमले राम्रै साथ दिएपछि यस वर्ष राम्रो फसल हुनेमा विश्वस्त रहेका कृषकहरुमाथि विश्वास घात भएको छ । वर्षभरी खान पुग्ने गरी भण्डारण गरी राख्ने र बाँकी उत्पादन बिक्रि गरी जिविकोपार्जन गर्दै आएका कृषकहरुका लागि चार दिनको वर्षाले बज्रपात भएको छ । अकल्पनीय क्षति व्यहोरेपछि सरकारले राहत र क्षतिपूर्ति उपलब्ध गराई जीविकोपार्जनका सहजता ल्याइदिनु पर्ने कृषकहरुको माग छ ।

विपद् पछि बेलौरी नगर कार्यपालिकाको आकस्मिक बैठक बसी बाढी तथा डुबानबाट भएको क्षतिको तत्कालै लगत सङ्कलन गर्ने र अति प्रभावित परिवारहरूलाई खाद्यान्नको व्यवस्था गर्ने निर्णय गरिएको बेलौरी नगरपालिकाले जनाएको छ ।

आइतबार साँझदेखि बुधबार बिहानसम्म परेको अविरल वर्षाका कारणले कञ्चनपुरका अधिकांश क्षेत्र बाढी तथा डुबानबाट प्रभावित भएका छन् । प्रारम्भिक उद्धार र व्यवस्थापनका कार्यमा सरकारी, गैरसरकारी तथा सामाजिक संघसंस्था सहित युवाहरुको महत्वपूर्ण भूमिका निर्वाह गरेपनि विपदबाट भएको क्षतिको यकिन गरी राहत तथा क्षतिपूर्ति दिने कार्य भने हुन सकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय