लगातारको झरीले निम्त्याएको बाढी पहिरोले प्रदेश १ मा मात्रै हालसम्म २४ जनाको मृत्यु भएको छ भने ८ जना सम्पर्क विहिन भएका छन्।बुधबार बिहान ११ बजेसम्म २४ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा ६ जना पुरूष, ९ महिला, ७ बालक र २ बालिका रहेको १ नंं। प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिएकाहुन।

उनका अनुसार बाढी पहिरोमा परेर इलाममा ९, पाँचथरमा ६, उदयपुरमा १, धनकुटामा ६, सुनसरीमा २ जनाको मृत्यु भएको हो।प्रदेश १ मा ८ जना बेपत्ता भएका छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका ४ का २५ वर्षीय सुवध राई झरनामा नुहाउने क्रममा मंगलबार दिउँसो १ बजे बेपत्ता भएका थिए। खोजी गर्ने क्रममा बुधबार बिहान मृत अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।बाढीका कारण तराईको झापा, सुनसरी र मोरङ बढी प्रभावित भएका छन्।दुहबी ग्रीडमा समेत पानी पसेकाले विद्युत सेवासमेत प्रभावीत बनेको छ ।

मंगलबार राति सुनसरीको विभिन्न स्थानबाट १ सय ५० जनाको उद्दार गरिएको थियो। मोरङमा करिब पाँच सयभन्दा बढी उद्दार गरिएको छ। मोरङमा हजारौं घर डुबानमा परेका मोरङ प्रहरीले जनाएको छ। विराटनगर १, २, ७, ८, ११, १२, १५, १७, १८ का सयौं घर डुबानमा परेको छ। बुढीगंगा गाउँपालिका १ र २, शान्ति चोक बस्ती डुबानमा परेको छ। रतुवामाई नगरपालिका ७ मा ३० घर डुबानमा परेको प्रहरीले जनाएको छ। रतुवाखोलाको बाँध फुटेर बस्तीमा खोला पसेको छ।

उता सुदूरपश्चिममा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या बुधबार १२ बजेसम्म १८ पुगेको छ।प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार साँझदेखि अहिलेसम्म डोटीमा १२, बैतडीमा ४ र डडेल्धुरामा २ जनाको मृत्यु भएको हो।

डोटीमा पहिरोमा परी बोगटान फुड्सिल गाउँपालिका–५ उपल्लागाउँकी चन्द्रा नेपाली, सायल गाउँपालिका–५ गुरेनाडमरीका ५५ वर्षीय हिरूवा विक र सायल गाउँपालिका–१ का ७४ वर्षीय वीरे रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ। जोरायल गाउँपालिका–४ सयगडामा शेरबहादुर विकको घर भत्किँदा उनीसहित उनकै १८ वर्षका छोरा मोहन विक, १२ वर्षीया छोरी पवित्रा विकको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

सोही घरमा मामाघर आएका १६ वर्षीय रविन विकको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।यस्तै, जोरायल गाउँपालिका–४ मा पनि पहिरोले घर पुरिँदा ६२ वर्षका जोगी सार्कीको मृत्यु भएको छ। उनकी घाइते अवस्थामा रहेकी ६१ वर्षीया श्रीमती झुपरी सार्कीको पनि उपचारका क्रममा मंगलबार राति नै मृत्यु भएको हो।

यस्तै, पहिरोसँगै आएको ढुंगा लागेर शिखर नगरपालिका ११ की ३६ वर्षीया मन्धरी बलायरको मृत्यु भएको प्रहरीले जनाएको छ।यस्तै, सोमबार रातिको पहिरोले घर पुरिँदा सायल गाउँपालिका ६ का वीरबहादुर कुन्जेडाका १४ वर्षीय छोरा सागर र ११ वर्षीय आशिष कुन्जेडाको मृत्यु भएको थियो।

बैतडीमा ७१ वर्षीया परुदेवी महरा, २५ वर्षीया भानु पार्की, २१ वर्षीया पवित्रा पार्की, ३ वर्षीय देवन पार्कीको पहिरोमा परी मृत्यु भएको हो।डडेल्धुरामा ३२ वर्षीय विष्णु अवस्थी र ६५ वर्षीय नरपता शाहीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय