अधिकांश कर्णालीवासीले चामल नै पाएका छैनन् । पाएकाले पनि राज्यको हेपाहा प्रवृत्ति सहनुपरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोट शाखाले दसैँको मुखमा कुहिएको चामल बिक्री गरिरहेको छ ।

शाखाको गोदाममा रहेको जापानिज चामल कुहिएको छ । आइतबार नाम्खा गाउँपालिकाले चामल खरिद गर्नुअघि जाँच गर्दा पहिलो बोरामै कुहिएको चामल भेटियो । कुहिएरको चामल डल्लैडल्ला परको छ । त्यति मात्र होइन एउटा चामल भनेर अर्कै चामल पनि बिक्री गरिएको छ । नाम्खा गाउँपालिकामै जापानिज चामल भनेर बिक्री गरिएको बोराभित्र अर्कै चामल भरेको पाइएको छ ।

गाउँपालिकाले दसैँमा आफ्ना नागरिकलाई वितरण गर्न आइतबार ६५ क्विन्टल ४० किलो जापानिज र १८ क्विन्टल जिरा मसिना खरिद गरेको थियो । त्यो वितरण गर्ने क्रममा खाद्यको बद्मासी फेला परेको हो । खरिद गरिएको जापानिज चामल डेढ वर्षदेखि गोदाममा थन्किएको थियो । पहिलो बोरामै कुहिएको भेटिएपछि थप दुईवटा बोरामा जाँच गरिएको थियो, जसमा अर्कै चामल भरेको देखियो ।

हुम्लामा त ज्यादतीको सीमा नै नाघेको छ । सदरमुकाम सिमकोटस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट कुहिएर डल्लैडल्ला परेको चामलसमेत बिक्री गरिँदै छ ।

‘गाउँपालिकालाई बिक्री गरिएको जापानिज चामल डेढ वर्षदेखि गोदाममा थन्किएर रहेको थियो,’ खाद्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोट शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले नयाँ पत्रिकासँग भने, ‘चिसो ठाउँमा राखेको हुनाले केही बिग्रिएको होला ,अरू चामल बिग्रिएको छैन ।’

जिल्लामा चामलको अभाव रहेकाले स्थानीयले जस्तो चामल पनि खरिद गर्ने गरेका छन्। खाद्यका शाखा प्रमुख अधिकारीले भने बिग्रिएको चामल आफूहरूले नष्ट गर्ने गरेको दाबी गरे । नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले चामल बौद्ध लामाहरू तथा विद्यालयका छात्रावासको प्रयोजनका लागि खरिद गरिएको बताए ।

‘नाम्खा– ४ मा रहेको याल्वाङ गुम्बामा पूजा हुन लागेको छ । त्यसमा सहभागी लामाहरू र विद्यालयको छात्रावासमा बस्ने विद्यार्थीलाई खानका लागि चामल खरिद गरिएको हो,’ अध्यक्ष तामाङले भने ।

दुई महिनामा पाँच केजी चामलका लागि स्थानीयलाई रासनकार्ड, कर्मचारीले १५ केजी किन्न सिडिओको तोकादेश

सिमकोट गाउँपालिका र बजारभित्रका स्थानीयलाई दुई महिनामा एकपटक प्रतिव्यक्ति पाँच केजी चामल उपलब्ध गराउन रासनकार्डको व्यवस्था गरिएको छ । जसले चामल वितरणलाई थप जटिल बनाएको छ । त्यस्तै जिल्लामा कार्यरत सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीले प्रशासनबाट तोक लगाएपछि मात्रै १५ किलो चामल किन्न पाउँछन् ।

त्यसका लागि उनीहरूले कार्यालयबाट हाजिरी फाइलसँग सम्बन्धित कार्यालयको सिफारिस बोकेर प्रशासनमा जानुपर्छ । सहायक प्रमुख जिल्ला अधिकारीबाट तोकादेश भएपछि मात्रै कर्मचारीले चामल किन्न पाउँछन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा रित्तै
खाद्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोट शाखामा तीन सय क्विन्टल मात्रै खाद्यान्न मौज्दात रहेको शाखा प्रमुख कृष्णप्रसाद अधिकारीले जानकारी दिए । ‘पाँच सय क्विन्टल मौज्दात रहे पनि दुई सय क्विन्टल नाम्खा गाउँपालिकालाई बिक्री गरेसँगै जम्मा तीन सय क्विन्टल मात्रै खाद्यान्न मौज्दात छ,’ उनले भने ।

तर, जिल्लाको दक्षिणी गाउँपालिका ताजाँकोट, अदानचुली, सर्केगार्ड, चंखेली, खार्पुनाथ र उत्तरी नाम्खा गाउँपालिकामा खाद्यान्न अहिलेसम्म पुगेको छैन ।

अदानचुली गाउँपालिकाको श्रीनगर डिपो, सर्केगार्ड गाउँपालिकाको सर्केगार्ड डिपो र चंखेली गाउँपालिकाको देउली बिक्री केन्द्र, ताजाँकोटको छप्रेला, सर्केगार्ड गाउँपालिका– १ को बालुकुना, खार्पुनाथ गाउँपालिकाको याङ्चु र उत्तरी नाम्खा गाउँपालिकाको याल्वाङ बिक्री केन्द्रमा अहिलेसम्म चामल पुगेको छैन ।

उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका लकडाउनपछि बन्द भएसँगै खाद्यान्न अभाव देखिएको छ । रसुवाको केरुङ नाका हुँदै चीनको तिब्बत हुँदै आउने खाद्यान्न भित्रिनसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोट शाखाले जनाएको छ ।

नाम्खा गाउँपालिकामा चार हजार क्विन्टल, खार्पुनाथ गाउँपालिकामा हजार, सुर्खेतमा हजार र नेपालगन्ज तथा श्रीनगर डिपोमा तीन हजार क्विन्टल र सर्केगार्ड डिपोमा हजार तथा हजार क्विन्टल सुर्खेतबाट आउनुपर्ने शाखा कार्यालयले जनाएको छ ।

यसैगरी, छप्रेला बिक्री केन्द्रमा सात सय ५० क्विन्टल र देउली बिक्री केन्द्रमा सात सय ५०, याङ्चुमा हजार क्विन्टल आउनुपर्ने हो । अहिलेसम्म ढुवानी नहुँदा दसैँमा खाद्यान्न अभाव भएको पाइएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोट शाखाबाट स्टिम जिरा चामल २५ केजीको बोरा दुई हजार ५० मा बिक्री हुने गरेको छ । स्टिम जिरा १० केजीको आठ सय ५० रुपैयाँमा पर्छ । जापानिज चामल ३० केजी बोराको १९ सय ५० रुपैयाँ र अरुवा मोटा २५ केजीको बोराको १४ सय ५० र अरुवा मोटा चामल ३० केजी बोराको १७ सय ४० रुपैयाँमा बिक्री हुने गरेको छ । यसैगरी, सोना मन्सुली ३० केजी बोराको १८ सय ६० रुपैयाँ र मकवानपुर चामल ३० केजीको १७ सय ७० पर्ने गरेको छ ।

दलले पाउँछन् चामल
कांग्रेसले सातौँ जिल्ला अधिवेशनका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा पक्ष मानिने जीवनबहादुर शाही पक्षले ८० क्विन्टल सिफारिस गरेको थियो । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले ६० क्विन्टल मात्रै तोक लगाएका छन्। गोदाममा खाद्यान्न अभाव भएकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोट शाखाले ४२ क्विन्टल देउवा प्यानललाई दिएको हो ,१८ क्विन्टल दिन बाँकी छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट रीता शाही प्यानललाई प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद आचार्यले चामल दिएनन् । जिल्ला समन्वय समितिका प्रमुख एवं खाद्य व्यवस्था समितिका संयोजक दानबहादुर रावतको सिफारिसबाट २० क्विन्टल चामल दिएका छन्।् । माओवादी केन्द्रले प्रदेश ‘ख’को सम्मेलन कार्यक्रमका लागि चार क्विन्टल चामल लिएको पाइएको छ । एमालेनिकटबाट कुनै सिफारिस नआएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय