बडा दशैंको सातौ दिन आज नेपाली सेनाले काठमाण्डौको टुँडिखेलमा फुलपातीको हर्षबढाई गरेको छ । हनुमानढोका दरबारस्थित दशै घरमा फूलपाती भित्राएपछि अपरान्ह सेनाले सैनिक मञ्च टुँडिखेलमा हर्ष बढाई समारोह गरेको हो ।

समारोहमा सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गरिनुका साथै राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ गरियो । त्यस अवसरमा इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र सैनिक ब्यान्डबाट मालश्री र दुर्गा स्त्रोत्रका धुन बजाइएको थियो ।

सेनाले फूलपाती बढाइँ कवाजअन्तर्गत राइफलबाट छिटो लहरे र एकठ्ठा बढाइँ ग–यो । तोपबाट पनि लहरे र एकठ्ठा बढाइँ प्रस्तुत गरियो । बढाइँ कार्यक्रममा हेलिकोप्टरले पुष्पवृष्टि गरेको थियो ।

कोरोना संक्रमणका कारण यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले सांकेतिकरूपमा मात्र आयोजना गरिएको हो । यस पटक बढाइँमा थोरै कार्यक्रम सामेल गरिएकाले छोटो मात्र होइन, कोरोनाको जोखिमका कारण पाहुनाको संख्या सीमित तुल्याइएको थियो ।

बढाइँ हेर्न आमन्त्रण गरिएका पाहुनालाई सामाजिक दूरी कायम गरी बस्ने व्यवस्था गरिएको थियो । समारोहमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटालगायत समारोहमा उपस्थित थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय