भारतप्रशासित कश्मीरमा सन्दिग्ध विद्रोहीद्वारा भएका हत्याका घटनापछि सुरक्षाकर्मीले सयौँ स्थानीयलाई पक्राउ गरेको छ । पछिल्लो हप्ता सातजना नागरिकको हत्या भएपछि प्रहरीले घटनामा सग्लन भएको भन्दै सर्वसाधारणलाई पक्राउ गर्न थालेको हो ।

हत्याले सर्वसाधारणमा आक्रोश निम्ताएपछि प्रहरीले त्यसमा सग्लनको खोजी अघि बढाएको हो । प्रहरीले पाँच सय जनाभन्दा बढी मानिसलाई पक्राउ गरेको बताइएको छ । प्रतिबन्धित लडाकु समूहसँग सम्बन्ध रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । हत्याको जिम्मेबारी एउटा नयाँ समूहले लिएको छ ।

सो समूहले हत्या गरिएका मानिसहरु भारतीय सेनाका लागि काम गर्नेहरु रहेको दावी गरेको छ । हत्या गरिनेमा अल्पसंख्यक हिन्दू र शिख समुदायका दुईजना शिक्षक पनि छन । मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले विद्रोहीहरूको आक्रमण र सरकारी फौजको दमनका कारण कश्मीरका मानिसहरू अन्तहीन हिंसाको शिकार भएको भन्दै चिन्ता प्रकट गरेको छ ।

सन् २०१९ को अगस्टमा भारतले मुस्लिम बहुल कश्मीरको अर्धस्वायत्त हैसियत खोसेयता तनाव कायमै छ । भारत सरकारले जम्मू–कश्मीर राज्यको विशेष संवैधानिक मान्यता खारेज गरेर त्यसलाई दुईवटा केन्द्रशासित भूभागमा परिणत गरेको हो । सो निर्णयपछि जम्मू–कश्मीर एउटा र लद्दाख अर्को केन्द्रशासित भूभाग बनेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय