नेपालीहरुको महान पर्व बडा दशैंको पाँचौ दिन आज स्कन्दमाताको पूजाआजा गर्ने गरिन्छ । दुर्गा भवानीका नौ रुप मध्ये पाँचौ रुप स्कन्दमाताको हो भन्ने विश्वास छ ।

नवरात्रका दिन सुरु भएसँगै पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डाको पूँजा गरिएकोमा बिहीबार पाँचौ दिन स्कन्दमाताको पूजा गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको पहिलो दिन कात्तिक गते शनिबार दशैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो ।

राजधानीका गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिकास्थान, शोभाभगवती, तलेजुभवानी र विजेश्वरीमा दर्शनार्थीको भिड लागेको छ । त्यस्तै, नक्साल भगवती, भद्रकाली र इन्द्रायणी लगायतका दुर्गादेवीका शक्तिपीठहरुमा दर्शनार्थी पुगेका छन् । उपत्यका बाहिर ताप्लेजुङको पाथिभरा, धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, गोरखाको मनकामना लगायतका शक्तिपीठहरुमा नवदुर्गा अवधिभर भक्तजनको भीड लाग्ने गर्दछ ।

दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद जमरा विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैँ पर्व मनाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय