रुपन्देहीस्थित मोतिपुर औद्योगिक क्षेत्रको जग्गा सुकुम्बासीका नाममा कब्जा गर्न खोजेपछि स्थानीय प्रशासनले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ । प्रहरीको गोली लागेर घाइते भएका तीन जना अतिक्रमणकारीको भैरहवा मेडिकल कलेजमा उपचार गर्न लैजाने क्रममा बाटोमै र एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । घटनामा परी ४६ जना घाइते भएका छन् ।

झडपमा परी १४ जना स्थानीय, १६ जना जनपथ प्रहरी र १६ जना सशस्त्र प्रहरी घाइते भएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जनाएका छन् ।

जग्गा कब्जा गर्न खोज्नेलाई हटाउन खोज्दा ढुंगामुढा गरेपछि प्रहरीले गोली चलाएको थियो । घाइतेहरुको भैरहवा मेडिकल कलेज र लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । यसैबीच, अवस्था तनावग्रस्त भएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मोतीपुर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुर, उत्तरमा शिवनगर रानीगञ्ज बस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका– १८ स्थित औद्योगिक करिडोरसम्म निषेधाज्ञा जारी गरेको प्रशासनले जनाएको छ ।

औद्योगिक क्षेत्र निर्माण गर्ने ठाउँमा जग्गा कब्जा गर्न खोज्ने र प्रहरीबीच झडप भएपछि स्थिति तनावग्रस्त बनेको हो । औद्योगिक क्षेत्रमा अस्थायी रुपमा बनाइएका टहराहरू भत्काउन खोज्दा सुकुम्बासीहरु प्रहरीमाथि जाइलागेका हुन् । घटना भएको क्षेत्रमा बाक्लो संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।।

’युनिभर्सल कलेज अफ मेडिकल साइनसेज भैरहवामा उपचारका लागि गएका ८ जना अतिक्रमणकारी र ५ प्रहरीमध्ये ४ जना अतिक्रमणकारीको मृत्यु भएको छ,’ अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरूङले कान्तिपुरलाई जानकारी दिए । उनका अनुसार ३ जनाको अस्पताल ल्याउँदा नै मृत्यु भएको थियो । १ को उपचारको क्रममा मृत्युभएको हो । अन्यको उपचार हुँदैछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय