नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ८८ दिनपछि आज मन्त्रिपरिषदले पूर्णता पाएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच मन्त्रालय भागबन्डामा कुरा मिलेपछि आज प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

नवनियुक्त मन्त्रीहरुले आजै राष्ट्रपतिसँग पद तथा गोपनियताको सपथ लिएका छन् । प्रधानमन्त्री देउवाले कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार, सूचना तथा प्रविधि, दिलेन्द्र बडुलाई कानुन, उमा रेग्मीलाई महिला तथा बालबालिका, मिनेन्द्र रिजाललाई रक्षा, उमाकान्त चौधरीलाई खानेपानी मन्त्री बनाएका छन् ।

त्यस्तै गजेन्द्र हमाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त गरिएको छ । उनी बाँकेका नेपाली कांग्रेसका जिल्ला स्तरिय कार्यकर्ता हुन् । उनी सांसद छैनन् । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्रीको कार्यालयमा तानिएको छ ।

त्यसैगरी, माओवादी केन्द्रबाट देवेन्द्र पौडेललाई शिक्षा विज्ञान तथा प्रविधि, शशि श्रेष्ठलाई भूमि व्यवस्था तथा सहकारी र महेश्वर गहतराजलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरिएको छ । त्यस्तै बोधमायाकुमारी यादवलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त गरिएको छ ।

त्यस्तै, एकिकृत समाजवादीबाट विरोध खतिवडालाई स्वास्थ्य तथा जनसंख्या, रामकुमारी झाँक्रीलाई सहरी विकास, कृष्णकुमार श्रेष्ठलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा र प्रेम आलेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बनेका छन् । एकीकृत समाजवादीका तर्फबाट भवानीप्रसाद खापुङलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त गरिएको छ ।

त्यसैगरी, जसपाबाट रेणु यादवलाई भौतिक पूर्वाधार, राजेन्द्र श्रेष्ठलाई संघीय मामिला तथा सामान्य प्रशासन, महिन्द्र राय यादव कृषि तथा पशुपन्छी मन्त्री, रामसहाय यादवलाई वन तथा वातावरण मन्त्री बनाइएको छ । यसअघि बालकृष्ण खाँड गृह, डा नारायण खड्का परराष्ट्र, जर्नादन शर्मा अर्थ र पम्फा भुषाल उर्जा तथा जलस्रोत मन्त्रीमा नियुक्त भएका थिए ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई संचार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।देउवाको मन्त्रिमण्डलमा समेटेका २५ सदस्यमध्ये ११ जना पहिलो पटक मन्त्री बनेका छन् । देउवा नेतृत्वको मन्त्रिमण्डलमा पहिलो पटक मन्त्री बनेर सिंहदरबार छिर्नेमा काँग्रेसका दुईजना उमा रेग्मी र गजेन्द्र हमाल, नेकपा माओवादीबाट एक राज्यमन्त्रीसहित चार जना रहेका छन् ।

माओवादीबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वरजंग गहतराज र बोधमाया यादव पहिलो पटक मन्त्री बनेका हुन् । त्यस्तै नेकपा एकीकृत समाजवादीका पनि चार जना नयाँ अनुहार मन्त्री बनेका छन् ।

समाजवादीबाट विरोध खतिवडा, रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठ र भवानी खापुङ पहिलो पटक मन्त्री भएर सिंहदरबार छिरेका हुन् । यस्तै जनता समाजवादी पाटीबाट रामसहाय यादव पहिलो पटक मन्त्री बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय