हुम्ला सीमामा चीनले नेपाली भूमि अतिक्रमण गरी भवन बनाएको भन्दै चीन विरुद्ध प्रर्दशन

हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको भन्दै युवाहरुले काठमाडौँमा चीनविरुद्ध प्रदर्शन गरेका छन् । बालुवाटारस्थित चिनियाँ दूतावास अगाडि युवाहरुले चीनविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरुले सीमा अतिक्रमण बन्द गर, मिचिएको नेपाली भूमि फिर्ता गर, चिनियाँ साम्राज्यवाद मुर्दावाद, सीमा नाका खुला गर’ लगायतका प्ले कार्ड बोकेका थिए । युवाहरु प्रदर्शनमा उत्रेपछि चिनियाँ दूतावास रहेको क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।
हालै चीनले हुम्लामा नेपाली भूमि अतिक्रमण गरी भवन निर्माण गरेको खबर सार्वजनिक भएपछि युवाहरुले विरोध प्रर्दशन गरेका हुन् । तर चीनले भने उक्त क्षेत्र नेपालको नभई चीनकै रहेको दाबी गरेको छ । हुम्लाको सीमा क्षेत्रस्थित नेपाली भूमिमा भवन निमार्ण गरेको सार्वजनिक भएपछि चीनले विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको छ ।
यता हुम्लाको लाप्चास्थित नेपाली भूभागमा चीनले भवनहरू बनाएको भन्ने खबरको काठमाडौंस्थित चिनियाँ दूतावासले खण्डन गरेको छ । दूतावासका प्रवक्ताले मंगलबार राति निकालेको विज्ञप्तिमा चीनले भवन बनाएको भूभाग चीनकै रहेको र यसबारे नेपालले थप प्रमाणीकरण गर्न सक्ने जनाइएको छ ।
दूतावासले चीन र नेपालबीच कतै पनि सीमा विवाद नरहेको पनि दोहोर्याएको छ । हुम्लाको नाम्खा गाउँपालिका–६ को लाप्चास्थित ललुङजम क्षेत्रमा नेपालीले भोगचलन गर्दै आएको क्षेत्रमा चीनले भवनहरू बनाएको खबर सार्वजनि भएको थियो ।
खबर आएलगत्तै हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा गएको टोलीले सने क्षेत्रको स्थलगत अध्ययन गरेको थियो । यस विषयमा नेपालको परराष्ट्र मन्त्रालयले भने केही प्रतिक्रिया दिएको छैन ।