हुम्लामा चीनले सीमा मिचेको कांग्रेसको दाबी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लामा सीमा मिचिएको दाबी गरेको छ। बुधबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै सरकारले हतारमा सीमा मिचिएको छैन भनेर टिप्पणी गरेको र अहिले सीमा मिचिएको प्रमाण सार्वजनिक हुँदा पनि मौन बसेको भन्दै ढाकछोप गर्न लागेको आरोप लगाएका छन्।

सदरमुकाम सिमकोटबाट ५० कोषमा रहेको नाम्खाको लिमिमा चीनले नेपालको सीमाना मिचेको चर्चा देशको राजधानीमा आइपुग्दा सरकारले ‘सीमा मिचिएको छैन’ भनेर परराष्ट्र मन्त्रालयमार्फत्मार्फत धारणा सार्वजनिक गरेको थियो भने प्रमुख प्रतिपक्षी दलका रूपमा नेपाली कांग्रेसले ‘यस्तो प्रश्नमा हतारोमा टिप्पणी गर्नु गलत हुने अतः स्थलगत अध्ययनको प्रतिवेदन पश्चात् टिप्पणी गर्नु जिम्मेवार र परिपक्व हुने’ धारणा सार्वजनिक गरेको थियो। सरकारको धारणालाई हामीले तत्कालै ‘हतारोको टिप्पणी’ संज्ञा दिएका थियौं, प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

हुम्लास्थित स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी लगायतको नेतृत्वले असोज पहिलो साता गरेको स्थलगत अध्ययनको प्रतिवेदन सरकारले सार्वजनिक नगरेपछि १४ असोजमा कर्णाली प्रदेश सभाका विपक्षी नेता एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य जिवनबहादुर शाहीको नेतृत्वमा एक अध्ययन कार्यदल नाम्खा पुगेको थियो।

चीनसंगको सीमामा सो भूगोलमा रहेका पिलर नम्बर ५ देखि १२ सम्मको सीमाक्षेत्रमा सो टोलीले ११ दिन लगाएर गरेको अध्ययनले नाम्खाको लिमिमा चीन सरकारले करिब दुई किलोमीटर नेपाली भूमि अतिक्रमण गरेको निष्कर्ष निकालेको छ।

दुई किलोमीटर भूमि अतिक्रमण हुंदा सूचना नराख्नु, जानकारी दिने सहायक प्रजिअलाई २४ घण्टे स्पष्टीकरण काट्नु, प्रजिअ नेतृत्वको टोली स्थलगत अध्ययनमा छँदै ‘सीमा मिचिएको छैन’ भनेर परराष्ट्र मन्त्रालय बोल्नु, सो टोली सिमाबाट फर्किएपछि मिडियालाई विवरण दिन रोक लगाइनु, त्यो अध्ययन टोलीको विवरण केन्द्रमा समेत सार्वजनिक नगरिनु अनि प्रतिपक्षी दलको प्रदेश संसदीय दलको नेतृत्वले अध्ययन गरेको प्रतिवेदन पाएपछि पनि प्रदेश र केन्द्र सरकार दुवै मौन रहनु दुःखद, लज्जास्पद र आपत्तिजनक छू, कांग्रेसले विज्ञप्तिमार्फत भनेको छ।

कांग्रेसले सीमा अतिक्रमण उत्तरी मित्रराष्ट्रबाट होस् या दक्षिणीबाट, दुवै अस्वीकार्य हुने बताएको छ। साथै हुम्लाको सीमामा चीनले गरेको अतिक्रमण एक सार्वभौम राष्ट्र नेपालका लागि गम्भीर आपत्तिको बिषय भएको र नेपाल सरकारले त्यसको ढाकछोप गर्न खोज्नु र र मौनता साँध्नु झनै आपत्ति, आश्चर्य, निन्दनीय र राष्ट्रघातको विषय भएको कांग्रेसको भनाइ छ।

नेपाली कांग्रेस तत्काल धारणा सार्वजनिक गर्न नेपाल सरकार समक्ष माग गर्दै, राष्ट्रको साझा धारणा निर्माण गर्न, चीन सरकार समक्ष ‘प्रोटेस्ट नोट’ पठाउन र कुटनैतिक संवादमार्फत हल खोज्ने प्रक्रिया अविलम्ब शुरु गर्न माग गर्दछू, विज्ञप्तिमा भनिएको छ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *