सेनाको कुटपिटबाट सर्वसाधारणको मृत्यु भएको घटनाको छानविन हुँदैछ : नेपाली सेना

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाली सेनाले चितवनमा सैनिकको कुटपिटबाट सर्वसाधारणको मृत्यु भएको घटनाको छानविन भइरहेको एक विज्ञप्ती निकाल्दै जानकारी गराउको छ । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि बसेका सैनिकले नियन्त्रणमा लिई कुटपिट गरेपछि एक युवकको बुधबार मृत्यु भएपछि सेनाको यस्तो प्रतिक्रिया आएको हो ।

सेनाले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै साउन एक गते निकुञ्जमा घटेको घटनाको छानविन भैरहेको जनाएको हो । विज्ञप्तिमा घटनाबारे आन्तरिक छानविन सुरु गरिसकिएको र अधिकारप्राप्त सरकारी निकायहरुले गरिरहेको विस्तृत छानविनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ । साथै सेनाले सरकारको कार्यादेश अनुसार जिम्मेवारीपूर्ण ढंगले प्रकृति संरक्षण कार्य सम्पादन गर्न आफु प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ ।

निकुञ्ज सुरक्षामा खटिएका सैनिकको कुटपिटवाट पूर्वी चितवनको राप्ती नगरपालिका–२ मिलन टोलका २४ वर्षीय राजकुमार चेपाङको ज्यान गएको हो । सेनाको कुटपिटबाट मृत्यु भएको भन्दै परिवारले घटनाको छानबिन गर्न र दोषीलाई सजाय दिन माग गरेका छन् ।

राजकुमारसहित ७ जनालाई साउन १ गते निकुञ्ज सुरक्षामा खटिएका सैनिकले नियन्त्रणमा लिएका थिए । सातै जना सोही दिन छुटे पनि त्यही दिनदेखि बिरामी भएका राजकुमारको बुधबार मृत्यु भएको थियो । नियन्त्रणमा लिएका दुई महिलालाई केही नगरेपनि सेनाले पुरुषहरुलाई कुट्ने, मुढा ओसार्न लगाउने र सय–सय पटक पुसअप गराउने लगायत शारिरीक सजाय दिएको बताइएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *