सुख्खा पहिरोजादा कालीगण्डकी करिडोर अवरुद्ध
कालीगण्डकी करिडोरमा सुख्खा पहिरो झरेपछि शनिबार रातिदेखि सडक अवरुद्ध भएको छ । करिडोरको हर्मिचौर बाग्लुङ खण्डको कालीगण्डकी गाउँपालिका ४ र ६ जोड्ने गौडी खोला माथिबाट पहिरो खसेको हो ।पहिरोले नेपाली सेनाले झण्डै १ करोड रुपैयाँमा निर्माण गरेको बेली ब्रिज पूर्ण रुपमा क्षति भएको छ ।
त्यस्तै, उत्तर दक्षिण कालीगण्डकी करिडोर डिभिजन कार्यालय पाल्पाद्वारा निर्माण भइरहेको झण्डै ४ करोड लागतको पक्की पुलमा पनि क्षति पुगेको छ ।सडक निर्माण गरिरहेको नेपाली सेनाको कालीगडण्डकी सडक निर्माण कार्यलदका प्रमुख सेनाली कर्णेल रेश्मीराज भट्टराईका अनुसार पहिराले सेनाले करिडोर सञ्चालनका लागि २०७३ सालमा निर्माण गरेको २४ मिटर लम्बाइ र ८० फिट उचाइको बेली ब्रिज पूर्णरुपमा क्षति भएको छ ।
अब त्यही पुल काम लाग्दैन्, उनले भने, ‘पहिरोले क्षतविक्षत भएको पुललाई खोलाले बगाएर केही तल पुर्याएको छ ।’ पहिरोले खोलालाई झण्डै १ घण्टा थुनेको थियो ।
पहिरोले बेली ब्रिजको २० मिटर नजिकै निर्माण गरिरहेको करिडोरकै पक्की पुलमा पनि क्षति पुर्याएको छ । पुलको ९८ प्रतिशत काम सकिएको निर्माण व्यवसायी भागवत गिरीले बताए । ‘निर्माण सकेर हस्तान्तरणको तयारीमा थियौं,’ उनले भने, ‘पुलकै माथिबाट खसेको सुख्खा पहिरोले क्षति पुर्याएको छ ।’पुल निर्माणको करिडोर कार्यालय पाल्पाले अनुगमन गरेपछि मात्र पूर्ण क्षतिको विवरण आउने उनले बताए ।
पहिरोले दुवै पुलमा क्षति पुर्याएपछि करिडोरमा आवतजावत बन्द भएको छ । सडक खुल्न कम्तीमा दुई दिन लाग्ने सेनाले जनाएको छ ।