सीमा समस्या समाधानका लागि भारतले वास्तै गरेन : पुष्पकमल दाहाल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिम्पियाधुरामा नेपाली भूमि मिचिएको नक्सा सच्चाउन गरिएको आग्रहलाई भारतले बेवास्ता गरेको बताएका छन् ।

नेकपा संसदीय दलको बैठकलाई शुक्रवार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कालापानीमा नेपाली भू–भाग समेत समेटेर जारी नक्सा सच्याउन नेपाल सरकारले गरेको आग्रहलाई भारतले वास्तै नगरेको बताएका हुन् ।

‘कालापानी, लिपुलेक र लिम्पियाधुरामा मिचिएको नेपाली भूमि फिर्ता गर्न र नेपाली भूमिबाट भारतीय सेना फिर्ता गर्न भारतलाई कूटनीतिक माध्यमबाट आग्रह गरिएको छ,’ प्रचण्डले संसदीय दलको बैठकमा भने ।

मिचिएको नेपाली भूमि विनाशर्त फिर्ता गर्नुपर्नेमा सरकार र नेकपाको अडान कायम रहेको प्रचण्डले सुनाएका थिए ।

सीमा समस्या हल गर्ने विषयमा स्थायी समितिमा पनि छलफल चलिरहेको भन्दै प्रचण्डले नेपाली भूमि फिर्ता गराएरै छाड्ने बताए ।

जारी स्थायी समिति बैठकमा पेश गरिएको प्रचण्डको राजनीतिक प्रतिवेदनमा सीमा विवाद हल गर्ने एजेण्डा पनि छ । प्रचण्डले संसद्को अधिवेशनमा प्रभावकारी ढंगले प्रस्तुत हुन सांसदहरूलाई निर्देशन दिए ।

बैठकमा नेता भीम रावलले सीमा मिचिएको बारे संसदीय दलबाट निर्णय गराएर नेपाली भूमि फिर्ताका लागि दबाब दिनुपर्ने बताएका थिए । उनले नेपाली भूमि फिर्ताका लागि सरकारले गरेको प्रयासको प्रशंसा गर्दै सरकारलाई धन्यवाद प्रस्ताव पारित गर्न संसदीय दलमा प्रस्ताव गरेका थिए । उनले एमसीसी र इन्डोप्यासिफिसकको बारेमा पनि धारणा बनाउनुपर्ने बताएका थिए ।

नेता जनार्दन शर्मा र खगराज अधिकारीले पनि नेपाली भूमि फिर्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक राखेर प्रयास गरेको भन्दै धन्यवाद प्रस्ताव पारित गर्न आग्रह गरेका थिए ।

सांसद अधिकारीले आफूले संसद्मा दर्ता गरेको सीमासम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्तावलाई महत्त्व दिएर छलफलमा ल्याउन माग गरे ।

संसद् विपक्षीको मात्र होइन

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारले ल्याएका विधेयकको पक्षमा खुलेर बहस गर्न सांसदहरूलाई आग्रह गरे । संसद् विपक्षीको मात्र नभएको भन्दै उनले सत्ता पक्षका सांसदहरू पनि खरोरूपमा बहसमा उत्रिनुपर्ने बताए ।

संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा उपस्थित नभएपछि प्रचण्ड र नेम्वाङले सम्बोधन गरेका हुन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *