साँच्चै धरौटी जफत अनि कालोसूचीमा राख्ने हो र ? पत्याइयो!

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

वरिष्ठ सञ्चारकर्मी राजेन्द्र बानीया-

हैन भने नौटँकी बन्द गर !!
सरकारले मलको ठेक्का लिएर पनि नल्याएको भनेर दुईवटा कम्पनीलाई कारबाही र कालोसूचीमा राख्ने निर्णय सार्बजनिक गरेछ । भेडो जनता भएकैले नेताले बारम्बार बेवकुफ बनाएकाहरु कृषि मन्त्रीलाई यति लगनपछिको पोते किन्देको भन्दै सामाजिक संजालमा तारिफ गर्न पो थालेछन् । अस्तिसम्म घनश्याम भुसालको मुखै हेर्न नसक्ने तप्का किन आज उनैलाई ताली ठोक्न उद्द्त छ त? यसको पहिलो कारण त नेपालमा मन्त्री, प्रधानमन्त्रीले सानो राम्रो गरेमात्र पनि हाँस्न र खुसी हुन सिक्नुपर्छ , नत्र हाँस्न र खुसी हुनै नपाई धेरै नेपालीले सिल्टिमुर खान्छन् । दोस्रो नेपाली जनताको स्मरण शक्ति यति कमजोर छ, सानो खुसीमा छमछमी नाच्ने भएर त नेताले बोइलरमा भोट किनेका । युवाका क्लबलाई भलिबल अनि नेट,महिला समुहलाई भोज गर्ने भाँडाकुडा अनि गुण्डालाई मोटरसाइकल र ठेक्का । यतिका भरमा दिनेसङ्ग भोट अनि नदिनेलाई धम्की । यसरी नै जितेका हुन् अधिकाँसले चुनाब । नत्र आज सँसद र सरकारमा भएका धेरै अनुहार कि भैंसी गोठाला हुन्थे कि ठेलागाडा चढेर अमेरिका जान्थे ।

फेरि मलकै ठेक्कामै फर्कौँ । कारबाहीका लागि भाद्र २०गते नै किन कुरेको? मन्त्रीको जवाफ छ दोस्रो लट पनि नल्याएमात्र कारबाही गर्ने? पहिलो लट समयमा नल्याउनेलाई दोस्रो लट् किन कुरेको?कारण स्पष्ट छ- अब जनतालाई मल दिनै पर्दैन किनकी किसानको धान खेतमा सुक्यो अनि सपना सरकारले सुताइदियो । अझ अर्को नाटक त बङ्गलादेशसङ्ग मल सापटी मागेको रे ।के को सापट चक्रीय ब्याजमै भएनी रिणनै मागेर पाइन्छ भने पनि नेता नै सापट मागौँ न यिनीहरुलाई लाने देशलाई हामी ब्याजको स्याज तिर्न तयार ।

साँच्चै धरौटी जफत अनि कालोसूचीमा राख्ने हो र? पत्याइयो!कुर्सी नमिलेर पार्टी फोड्न तयार हुनेले महल छोड्न पर्यो भने टाउकै फोड्छन् होला । ल त्यही पनि पत्याइदेको रे । नाटकको हद हुन्छ नि । दुई वटा कम्पनीबाट जफत १० करोड अनि ओम्नीको जफत गरिएको ५ करोड । १५ करोड सीड मनी बनाएर नेपालमै मल उद्योग खोल्न सुरु गरौ,बाँकी पैसा हामी नेपाली गाँस काटेर हाल्न तयार छौ । यसैनी आजसम्म त हाम्रो गाँस काटेर २१ पुस्तालाई कमाएकै छौ तिमिहरुले । लौ मल कारखाना नेपालमै नेपालीकै लगानीमा खोल्ने हिम्मत छ सरकार? छैन । किनभने धुन्दुकारीले बनाउन त जान्दैन भत्काउन मात्र हो । बिगतमा उद्द्योग पोलेर खरानीको व्यापार गर्ने को थियो ? लाउडा,धमिजा,चेज र चाइना साउथ हुँदै वाइडबडीले भुँडी भर्ने को थियो ? निजिकरणका नाममा अस्मिता पनि निजि कम्पनी र बिदेशीलाई सुम्पने को थियो ? यस्ताले कताको मल कारखाना खोल्नु पाए बिचौलिया,ठगदार,कालोबजारी कारखाना चाहिँ हो खोल्ने । कमिसन त्यतै बढी आउँछ नि त ।
फेरि मल कारखाना कै कुरा । कि ओम्नीको धरौटी जफत भएकै छैन ? कि जफत धरौटी घरमा आएका पाहुनाको मेजमानीमा त खर्च भएन नि? कि भागशान्ती जय नेपाल हो?तेसो हो भने यो दस करोड पनि २६ भाग लगाए भैगो,२५ भाइ भान्से,एक भाईको घरभाडा । सबै कुकुर बिरालो झैँ मिलेर बाँडेर खाए पनि जनता चुपै लाग्छन् । हाम्रा नेता हाम्रो देश,प्राण भन्दा प्यारो छ- हाम्रो नारा । त्यही नि अब मल अर्को बर्ष मात्र चाहिने हो, अर्को बर्ष त यो बर्ष जति मल पनि चाँहिदैन,किसान नै केही रोगले मर्छन् धेरै भोकले । टन्टै साफ । नत्र बुढी गण्डकी बनाउने भनेर पेट्रोल,डिजेल र मट्टीतेलमा काटेको पैसा खोइ? त्यही हालौँ न मल कार्खानामा अपुग । महाकालीबाट १ खर्ब २० अर्ब भन्या होइन,खर्ब चाहिँ खाउ-अर्ब चाहिँ मल कारखानामा हालौँ न हुन्न ?

हैन घुच्चुकको बुद्दी फर्केको हो भने काम नगर्ने ठेकेदार साँसद ,मन्त्री अनि थप घर्बेटीलाई पनि कार्बाही गरौँ न । चुनाबमा लिएको पैसा त ठेक्का दिएर चुक्ता गरिसकियो होला त ? कि महल बनाको, छोराछोरीको बिहे गरेको अनि सम्धीको जग्ग्गा किन्न बाणिज्य बैकबाट लिएको रिण तिराउन बाँकी छ? नत्र हिम्मत गरेर ठेक्का लिने र अलपत्र पार्नेलाई मात्र हैन,नेपथ्यमा बसेर ठेक्का दिलाउने सुकुम्बासीलाई पनि कारबाही गरौँ अनि गोलघर चलान गरौं । त्यहाँ बस्नेभन्दा यहाँ बस्ने धेरै अपराधी हैनन र ?हैन भने नौटँकी बन्द गर ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *