सभामुख नहुँदा विधेयकहरु प्रमाणित हुनसकेन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिनिधिसभाका सभामुख नहुँदा संघीय संसदबाट पारित भएका विधेयकहरु प्रमाणित गर्ने काम नै रोकिएको छ । विधेयक प्रमाणीकरण हुन कानुन बन्न नसक्दा संघीयता कार्यान्वयनमै असर परेको छ भने संसदीय समितिका बैठक पनि प्रभावित भएका छन् ।

कृष्णबहादुर महराले संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयास गरेको आरोप लागेर राजीनामा दिएपछि अहिले सभामुख पद खाली छ । सभामुख खाली हुँदा प्रतिनिधिसभाको सभामुखको हैसियतले गर्नै पर्ने महत्वपूर्ण काम रोकिन पुगेका छन् । संसद सचिवालयका अनुसार प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन सुपरीवेक्षण र समन्वय गर्न बनेको विधेयक र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सम्बन्धमा बनेको विधेयक गृहसँग सम्बन्धित छन ।

त्यस्तै भूमि सम्बन्धी ऐन, २०२१ लाई संशोधन गर्न बनेको विधेयक भूमी व्यवस्था मन्त्रालय र औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित छन् । प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन सुपरीवेक्षण र समन्वय गर्न बनेको विधेयक प्रमाणीकरण नहुँदा संघीयता कार्यान्वयनमा समेत समस्या देखिएको छ । चौथो अधिवेशनले पारित गरेका पाँचवटा महत्वपूर्ण विधेयक प्रमाणीकरणको काम रोकिएको छ ।

संघीय संसद सचिवालयले सभामुख पद रिक्त हुँदा प्रतिनिधिसभाका सांसदहरुको देश भित्र र बाहिर हुने औपचारिक कार्यक्रमहरु पनि रोकिएका छन् । सभामुख नहुँदा संसदीय समितिका बैठकहरु पनि अघि बढन सकेका छैनन् । सभामुखको अभावमा संसदीय समितिका गतिविधिहरु पनि ठप्प रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

सरकारले सिफारिस गरेपछि मात्रै संघीय संसदको हिउँदे अधिवेशन राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ । संसद सचिवालयले संघीय संसदको हिउँदे अधिवेशन बोलाउने आवश्यक तयारीको कामलाई भने अगाडि बढाएको छ । उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले प्रतिनिधिसभाको बैठकको अध्यक्षतामा गर्ने बाहेक अन्य काम गर्न नमिल्ने संवैधानिक व्यवस्थाका कारण समेत सभामुख चयनमा समस्या देखिएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *