वीरगन्जमा कोरोना संक्रमणले थप १ महिलाको मृत्यु
वीरगन्जमा कोरोना संक्रमणका कारण थप एक महिलाको ज्यान गएको पुष्टि भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भेडियाहीकी ४५ वर्षीया महिलाको ज्यान गएको हो। गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा शनिबार अबेर राति मृत्यु भएकी ती महिलाको पिसीआर रिपोर्ट आइतबार राति पोजेटिभ आएको हो।
शनिबार बेलुकी स्वास्थ्य प्रश्वासमा समस्या आएपछि ती महिलालाई इण्डो अस्पतालमा लगिएको थियो । त्यहाँ ४ घण्टा उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि कोरोनाको शंकास्पद बिरामीका रुपमा उनलाई शनिबार राति नै गण्डक कोभिड अस्पतालमा लगेर भर्ना गरिएको थियो।
कोभिड अस्पतालमै उपचारका क्रममा शनिबार रातिमा उनको मृत्यु भएको थियो । मृत्युपछि उनको स्वाब संकलन गरी पीसीआर जाँचका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो।आइतबार राति १२ बजे प्रयोगशालाले दिएको रिपोर्टमा ती महिलाको पीसीआर पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिएका हुन। योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । साउनमा मात्रै पर्सामा १८ जनाको मृत्यु भएको हो।