विद्युतीय कारमा लगाइएको अन्तस्शुल्क ८० प्रतिशतसम्म छुट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सरकारले व्यवसायीको दबाबमा विद्युतीय कारमा लगाएको अन्तस्शुल्क घटाउने निर्णय गरेको छ। चालु आर्थिक वर्षको आर्थिक ऐनबाट विद्युतीय कारमा लगाइएको अन्तस्शुल्क घटाउने निर्णय बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेको हो।

डा युवराज खतिवडाको बहिर्गमनसँगै व्यवसायीहरूले विद्युतीय गाडीमा लगाएको अन्तस्शुल्क हटाउन दबाब दिँदै आएका थिए। खतिवडाको बहिर्गमन र नयाँ अर्थमन्त्रीको नियुक्ति हुनुअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तस्शुल्कको दर घटाउने प्रस्ताव ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन दिएका थिए। व्यवसायीको प्रभावमा हतारहतार यो निर्णय गराइएको छ।

अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको विहीबारको बैठकले अन्तस्शुल्कको दर घटाउने निर्णय गरेको हो। विद्युतीय गाडीमा चालु वर्षको आर्थिक ऐनबाट ४० प्रतिशत भन्सार र क्षमताअनुसार अन्तस्शुल्क ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म अन्तुशल्क लगाइएको थियो।

भन्सारमा पहिले नै सहुलियत दिइएकाले त्यसलाई यथावत राखिएको छ। बिहीबारको निर्णयअनुसार ३० प्रतिशत अन्तस्शुल्क लाग्ने गाडीमा ८० प्रतिशत छुट दिइएको छ। यसैगरी विद्युतीय कारको क्षमताअनुसार छुटका फरकफरक दर कायम गरिएको छ।

यसअनुसार ५० किलोवाटसम्म क्षमता भएका विद्युतीय कारमा अब ६ प्रतिशत मात्रै अन्तस्शुल्क लाग्छ। मन्त्रिपरिषदको निर्णयअनुसार ५० किलोवाटसम्मकोलाई ८० प्रतिशत छुट दिइएको छ।

त्यसैगरी ५१ देखि १०० किलोवाटसम्मका गाडीमा लाग्ने अन्तस्शुल्कमा ७५ प्रतिशत छुट दिइएको छ। १०१देखि १५० किलोवाट क्षमताका गाडीमा ७० प्रतिशत र त्योभन्दा माथिका गाडीमा २५ प्रतिशत अन्तस्शुल्क छुट दिने निर्णय भएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ।

यसैगरी जलविद्युत आयोजनाको पेनस्टक पाइप पाताको पातामा लाग्ने मूल्य अभिवृद्धि कर यथावत राखिएको छ। जलविद्युत क्षेत्रका लगानीकर्ताले यो व्यवस्था हटाउन माग गर्दै आएका थिए। त्यस्तै केही औषधिको कच्चा पदार्थमा लाग्ने मूल्य अभिवृद्धि कर पनि हटाइएको छ।

सरकारले गहुँ र मैदाको भन्सार दरमा एक तहको अन्तर कायम गर्ने निर्णय गरको छ। यसअनुसार अब गहुँ ५ प्रतिशत भन्सारमा नेपाल आयात हुनेछ। मैदामा १० प्रतिशत भन्सार छ। भारतबाट आयात हुने मैदा ९ प्रतिशत भन्सार दरमा नेपाल भित्रिन्छ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *