विद्यासुन्दर शाक्य र हरिप्रभा खड्गी (श्रेष्ठ) तारकेश्वर धाम निर्माणको निरीक्षणमा एकसाथ पुगे

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ मंगलबार तारकेश्वर धाम पुगेका छन् । उनीहरुका साथ तारकेश्वर नगरका प्रमुख रामेश्वर वोहोरा र धाम रहेको वडा ३ का अध्यक्ष, वडा सदस्यसहित दुवै नगरका अधिकारीहरु सहभागी थिए ।

महानगरले नगर—नगर साझेदारी कार्यक्रमअन्तर्गत २०७५ माघ २७ गते सम्झौता गरेर तारकेश्वर नगरलाई १ करोड रुपैयाँ अनुदान रकम उपलब्ध गराएको थियो । त्यस रकममा तारकेश्वरले १ करोड रुपैयाँ थप गरेर २ करोड लागतमा धाम क्षेत्रमा पूर्वाधार विकासको काम भइरहेको छ ।

काठमाडौं महानगरपालिकाले जिल्लाका सबै नगरलाई सार्वजनिक जग्गा संरक्षण, हरियाली प्रवर्धन र पार्क निर्माणका लागि प्रस्तावित योजनाका लागि१-१ करोड रुपैयाँ उपलब्ध गराएको छ । यस क्रममा तारकेश्वर नगरले वडा नं ३ तारकेश्वर धाम निर्माण गर्ने योजना महानगरमा पठाएको थियो ।

चारैतिर सार्वजनिक जङ्गल रहेको भूभागको बीचको करीब १० रोपनी सार्वजनिक जग्गामा महादेवको मूर्तिमा पुग्ने सिढीँ, सन्त महन्त बस्ने कुटी, पोखरी, सत्तल, प्रवेश द्वार निर्माणलगायत काम भइरहेका छन् । हाल धामको निर्माण कार्य ४० प्रतिशत पूरा भएको छ ।

काठमाडौं महानगरको बालाजु वाइपासबाट करीब १५ किलोमिटर दुरीको यात्रामा पाँचमाने पुगिन्छ । त्यहाँबाट आधा घण्टाको पैदल यात्रापछि धाम क्षेत्रमा पुगिन्छ । शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै धाममा पुग्न सकिन्छ ।

यस ठाउँमा सती देवीको दायाँ तिघ्रो पतन भएको विश्वास गरिन्छ । यही विश्वासका आधारमा स्वस्थानी व्रतका समयमा यस ठाउँमा मानिसहरु आउने जाने गर्छन् । त्यस्तै जनै पूर्णिमाका दिन यहाँको पोखरीमा स्नान गर्न मानिसहरुको बाक्लो उपस्थिति हुने गरेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *