लामोसमय पछि इलामको अन्तुमा पर्यटकको चहल पहल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

 

कोरोना महामारीको संक्रमण रोकथाम गर्न गत २०७६ को चैतबाट बन्द भएका इलामको श्री अन्तुका होटल, कटेज तथा होमस्टेहरू खुल्न थालेका छन् । कोभिड–१९का कारण पर्यटकलाई गरिने सत्कार शैलीमा समेत परिवर्तन आएको छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने सर्तमा नै खोलिएको होमस्टेमा आउने पर्यटकलाई नमस्कार गर्ने गरेको श्रीअन्तु डाँडा सामुदायिक होमस्टेका अध्यक्ष धनबहादुर आले मगरले जानकारी दिएकाछन् । ‘यति बेला फाट्टफुट्ट पर्यटक आउन सुरु त भयो । तर, मापदण्ड पूरा गर्दैगर्दा पर्यटक नै पो रिसाइदिने होकि भन्नेडर भएको उनले बताए ।’

खादा फूल दिएर मौलिक रूपमा पर्यटकलाई सत्कार गर्ने शैलीमा परिवर्तन गरिएपछि कतै पर्यटकले नराम्रो सोच्ने हुन् कि भन्नेमा उनीहरू अन्योलमा रहेको देखिन्छ ।

मौसम खुले सँगसँगै अन्तुमा पर्यटक आउने गर्दछन् । वर्षा सकिएर घाम लाग्ने र आकाश खुल्ने क्रम बढेपछि अन्तु डाँडाबाट सूर्योदयको दृश्य राम्रो देखिन थालेकाले त्यहाँ आउने पर्यटकको आकर्षण बढ्नेगर्छ । श्री अन्तुडाँडामा सबैभन्दा पहिले घामको ज्योति पर्ने र यहाँबाट अत्यन्तै मनमोहक दृश्य देखिने भएकाले इलामसँगै नेपालका अन्य जिल्ला, भारतको दार्जिलिङ र बंगालबाट सूर्योदयको दृश्यावलोकनकै लागि पर्यटक आउने गरे पनि यस वर्ष कोरोना संक्रमण त्रासका कारण आन्तरिक र छिमेकी जिल्ला झापाबाट मात्र पर्यटक आउन थालेका छन् ।

अन्तुमा विभिन्न स्थानबाट दैनिक पाँच सयदेखि एक हजारको हाराहारीमा पर्यटक अन्तुडाँडामा घाम झुल्केको हेर्न आउने गर्छन् । सूर्योदयको दृश्य सँगसँगै अन्तु क्षेत्रमा लोपोन्मुख लेप्चा जातिको संस्कृति, अन्तु पोखरी, गुफा पाताल, सिंहबाहिनी क्षेत्र, मनमोहक हरियाली र चियाबारीका डाँडाकाँडाको दृश्य पनि आकर्षक भएका कारण यहाँ त्यसको मज्जा लिन पनि पर्यटक बाक्लै आउने गरेका छन् । गत वर्ष यो समयमा अन्तुमा बास पाउन गाह्रो थियो तर, यति बेला भने फाट्टफुट्ट मात्र पर्यटक देखिन थालेका छन् । यहाँबाट उत्तरका हिमशृंखला, कोणधारी धुपी–सल्ला, झुम्का–झुम्का अलैंची, सिजनअनुसार फलफूल तथा अरू बालीले पनि आनन्द दिने गर्दछ । यहाँबाट झापा, कन्याम, भारतको दार्जिलिङ, मिरिक, सिलिगुडीलगायतका बजार वरिपरिझैं देखेपछि मनमा आनन्द आउनेगर्छ । समुन्द्री सतहदेखि ७ हजार ६३७ फिट उचाइमा रहेको अन्तु पुग्न फिक्कलबाट १३ किलोमिटर सडक पार गर्नुपर्छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *