ललितपुर महानगरको प्रहरी बल प्रमुखमा सीताराम हाछेथू

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ट्राफिक व्यवस्थापनमा सक्षम र सफल मानिएका पूर्वट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथूलाई ललितपुर महानगरले नगर प्रहरी प्रमुखको जिम्मेवारीमा नियुक्त गरेको छ।हाछेथूलाई नगर प्रहरी र दमकललाई व्यवस्थित गर्ने जिम्मेवारीसहित महानगरले आइतबार नियुक्त गरेको हो।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरपालिकाका नगर प्रहरीको क्षमतालाई अझै चुस्त बनाउन सीतारामलाई नियुक्त गरेको बताए। ‘उहाँको कार्यक्षमता, शैलीबाट जनता प्रभावित हुनुहुन्छ, त्यसैले नियुक्ति दिएका हौं,’ प्रमुख महर्जनले भने।

पूर्वट्राफिक प्रहरीको अनुभवले ललितपुर महानगरका नगर प्रहरी अझै दक्ष हुने बताउँदै उनले नमूना नगर प्रहरी बनाउन हाछेथूको भूमिका महत्वपूर्ण हुने बताए। खासगरी नगर प्रहरीमा सुरक्षा क्षेत्रमा लामो समय अनुभव भएका व्यक्तिहरूलाई नियुक्ति गर्ने चलन छ।
महानगरभित्रको ट्राफिक व्यवस्थापन गर्दै महानगरले तयार पारेको महानगरस्तरीय ट्राफिक व्यवस्थापन सम्बन्धित योजना कार्यान्वयन गर्न विज्ञका रुपमा सीतारामले भूमिका खेल्ने उनले बताए।

हाछेथूले महानगरको नीति र निर्देशनअनुसार ललितपुर महानगरलाई व्यवस्थित सहर बनाउन काम गर्ने बताए। उनले भने, ‘ललितपुरका मेयर चिरिबाबु महर्जनले विश्वास गरेर यो जिम्मेवारी दिनुभएको छ, जिम्मेवारी पूरा गर्छु।’ उनले ललितपुर महानगरलाई नमूना नगर बनाउने प्रतिबद्धता व्यक्त गरे।

ट्राफिक व्यवस्थापन, सरसफाइ र फुटपाथ व्यवस्थापनलाई प्राथमिकता राखेर काम गर्ने हाछेथूले बताए।उनी २०७५ साल मंसिर महिनामा नेपाल प्रहरीबाट सेवानिवृत्त भएका थिए। प्रहरीमा रहँदा ट्राफिक व्यवस्थापनको कार्य कौशलको मूल्यांकनस्वरुप हाछेथूले राष्ट्रप्रमुख, सरकारप्रमुख, नेपालका विभिन्न मन्त्रालय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाबाट गरी एक सय २९ वटा पुरस्कार पाएका थिए।उनले कालिमाटी, कोटेश्वर, गौशाला, भक्तपुर, ललितपुरमा ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी निभाएका थिए।

२९ वर्ष यो ट्राफिक व्यवस्थापनमा बिताएका सीतारामलाई स्थानीय जनतासँग मिलेर काम सक्ने क्षमता भएका व्यक्तिको रुपमा लिइन्छ। ट्राफिक प्रहरीका विभिन्न प्रभाग, वृत्त र परिसरमा २८ वर्ष इन्चार्ज भएर काम गरेको अनुभव उनीसँग छ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *