लकडाउनमा पर्यटन मन्त्रालयको प्रगति, विवरण यस्तो छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

संस्कृति पर्यटन नागरिक उड्यन मन्त्रालयले चैत ११ देखि हालसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ। मन्त्रालयले लकडाउनको समयमा पर्यटन क्षेत्र गम्भीर प्रभाव परेको भन्दै यस अवधिमा उद्धार तथा सहजीकरणमा बढी केन्द्रित भएको बताएको छ।

राष्ट्रिय गौरवका आयोजनाहरूमध्ये पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लकडाउनको अवधिमा पनि निर्माणका कामहरूलाई निरन्तरता दिइएको मन्त्रालयले बताएको छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थप ३ प्रतिशत भौतिक प्रगति भई जम्मा ९१ प्रतिशत काम भएको छ। निजगढ विमानस्थलमा तटबन्ध कार्यतर्फ पसाह खोलाको ३० प्रतिशत, बकैया खोलाको ४० प्रतिशत कार्य भएको मन्त्रालयले उल्लेख गरेको छ।

त्यस्तै पोखरा विमानस्थल यस अवधिमा ९ प्रतिशत भौतिक प्रगति भई जम्मा ५९ प्रतिशत प्रगति भएको छ। विमानस्थलमा २ सय ४४ चिनियाँ नागरिक, ९० नेपाली नागरिक र ११० हेभी उपकरणमार्फत लकडाउनको समयमा काम भइरहेको छ।

त्रिभुवन विमानस्थलमा थप २ वाइडबडी जहाज पार्किङ गर्न गरी एप्रोन निर्माण सम्पन्न भई अब ५ वटा वाइडबडी पार्किङ गर्न सकिने उल्लेख छ।

पर्यटन बोर्डको समन्वयमा चैत ११ गतेदेखि देशभर लकडाउन भएको कारण नेपालभित्र अलपत्र परेका विदेशीहरूलाइ ९५० जना विदेशी पर्यटक उद्धार गरिएको छ।

मन्त्री योगेश भट्टराईले सुरूका दिनमा त्रासको स्थिति रहे पनि विस्तारै सहज हुँदै गएको बताए। उनले भने, ‘विकासका काम द्रुतगतिमा बढ्ने समयमा लकडाउनले अवरोध भए पनि विशेष प्राथमिकता दिएका छौं। लकडाउन नभएको भए गौतमबुद्ध विमानस्थलबाट व्यावसायिक उडान सुरू हुने थियो। प्राविधिक जनशक्ति अझै बाहिर हुँदा तत्काल काम सम्पन्न हुने सम्भावना छैन।’

पर्यटन क्षेत्र खोल्नुपर्ने व्यवसायीको सुझाव रहेको छ। त्यसको लागि व्यवसायीलाई प्रोटोकलअनुसार तयारी गर्न भनेको उनले बताए। अब विस्तारै खोल्दै जाने भन्ने मन्त्रालयको धारणा रहेको मन्त्री भट्टराईले बताए।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *