राजस्व अनुसन्धान बुटवलका प्रमुखै नै दुइलाख घुस लिएको आरोपमा पक्राउ

राजस्व अनुसन्धान बुटवलका प्रमुखै नै दुइलाख घुस लिएको आरोपमा पक्राउ परेकाछन् ।
राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विजय रानालाई सुर्ती व्यापारीसँग घुस लिंदै गर्दा पक्राउ गरिएको अख्तियार अनुसन्धान आयोगले जनाएको छ।
रानालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले बुटवल–१३ बुद्धचोकबाट २ लाख रुपैयाँ घुससहित मंगलबार पक्राउ गरेको अख्तियार बुटवल कार्यालयका प्रमुख डा भीष्मकुमार भुसालले जानकारी दिएकाहुन।
हाल रानालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उनले बताए। भुसालका अनुसार रकम दिने व्यवसायी अनिलकुमार झालाई पनि पक्राउ गरेर अनुसन्धान सुरु गरिएको छ। रकम दिने झा सुर्ती, गुट्खा व्यवसायी हुन् ।
रानाले झाबाट मासिक रुपमा घुस लिने गरेको अख्तियारको दाबी रहेको छ।
राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन सम्बन्धी कसुरमा अनुसन्धान, तहकिकात र अभियोजन गर्ने कामको जिम्मेवारी पाएको बुटवल कार्यालयका प्रमुख नै घुससहित पक्राउ परेको यो पहिलो घटना हो।