यातायातका चार हाकिमसहित १७ जनाले गरे ४२ करोड हिनामिना,अख्तियारद्वारा मुद्या दायर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

४१ करोड ९० लाख ५० हजार चार सय ३० रुपैयाँ राजस्व रकम हिनामिना गर्ने यातायात व्यवस्था कार्यालय कोसीका तत्कालीन चार कार्यालय प्रमुखसहित १७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

तत्कालीन कार्यालय प्रमुख नयराज नेपालसहित १७ जनाविरुद्ध अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएकाहुन।

अख्तियारमा परेको उजुरी आधारमा अनुसन्धान गर्दा नागरीक समाज इटहरीबाट यातायात व्यवस्था कार्यालय कोसीमा संकलित रकम राजस्व खातामा जम्मा नगरी हिनामिना गरेको खुलेको अख्तियारले जनाएको छ।

अनुसन्धानका क्रममा २०७३ चैतदेखि २०७४ असार मसान्तसम्मको उपलब्ध भएका तथ्यगत विवरण, प्रमाण कागजका आधार सेवाग्राहीबाट संकलित राजस्व प्रचलित कानुनबमोजिम सम्बन्धित राजस्व खातामा दाखिला नगरेको पाइएको अख्तियारले जनाएको छ।

तत्कालीन कार्यालय प्रमुख नेपालविरुद्ध १ करोड ८ लाख २९ हजार ६९ रुपैयाँ हिनामिना गरेको आरोपसहित बिगो असुल गरी जफत हुन माग दाबी लिइएको छ।

यस्तै तत्कालीन कार्यालय प्रमुख तीर्थराज लम्सालविरुद्ध तीन करोड ३० लाख ७९ हजार तीन सय ७३ रुपैयाँ हिनामिनाको आरोप छ।

अर्का तत्कालीन कार्यालय प्रमुख गोपाल थपलियाविरुद्ध एक करोड ३० लाख ७२ हजार एक सय ५३ रुपैयाँ तथा तत्कालीन कार्यालय प्रमुख भूपेन्द्र राईविरुद्ध ५६ लाख १२ हजार पाँच सय ४७ रुपैयाँ हिनामिनाको आरोपसहित मुद्दा दायर गरिएको छ।

तत्कालीन लेखा अधिकृत टीकाराम अधिकारीविरुद्ध एक करोड २५ लाख ४८ हजार ६ रुपैयाँ हिनामिनाको आरोप छ।

तत्कालीन लेखापालहरु सुरेश अधिकारीविरुद्ध तीन करोड ७२ लाख ४४ हजार सात सय ५५ रुपैयाँ, रुद्रप्रसाद दाहालविरुद्ध तीन करोड ४८ लाख ९३ हजार दुई सय १६ रुपैयाँ, अर्जुन भट्टराईविरुद्ध दुई करोड १७ लाख ३२ हजार चार सय ७३ रुपैयाँ तथा कृष्णप्रसाद कट्टेलविरुद्ध ७३ लाख ६२ हजार चार सय ५५ रुपैयाँ हिनामिनाको आरोप छ।

यस्तै कम्प्युटर अपरेटरहरु सुजन राईविरुद्ध २२ लाख ४४ हजार तीन सय ३६ रुपैयाँ, रमेश पौडेलल हरिमदन ढुङ्गेल र भूमिराज अधिकारीविरुद्ध जनही पाँच करोड ९४ लाख ९८ हजार ९ सय ३१ रुपैयाँ हिनामिनाको आरोप लागेको छ।

कम्प्युटर अपरेटरहरु दीपेन्द्रकुमार मण्डलविरुद्ध एक लाख ४६ हजार पाँच सय २६ रुपैयाँ, मैया कुमारी चापागाईंविरुद्ध २२ लाख ४४ हजार तीन सय ३६ रुपैयाँ, रविनकुमार विश्वासविरुद्ध ४५ हजार चार सय ६१ रुपैयाँ हिनामिनाको आरोप लागेको छ।
फोकस वान नेपाल प्रालिका कम्प्युटर अपरेटर राकेशरोशन मस्राङ्गी मगरविरुद्ध पनि पाँच करोड ९४ लाख ९८ हजार ९ सय ३१ रुपैयाँ हिनामिनाको आरोपसहित मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *