मुलुकको बिकासकालागी विकेन्द्रीकरणमा ध्यानदिनुपर्ने : पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा

नेपाली काग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले मुलुकको बिकासका लागी सबै भन्दा पहिला ग्रामिण क्षेत्रको बिकास गर्नुपर्ने बताउनुभएको छ ।
अन्तराष्ट्रिय अहिंसा दिवस तथा १५०औं गान्धी जयन्तीका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले ग्रामिण क्षेत्रको बिकास नभएसम्म मुलुकमा बिकासको गति अघि बढ्न नसक्ने बताउनुभएको हो ।
उहाले ग्रामिण क्षेत्रमा भएका घरेलु उत्पादनलाइ बढावा दिनुपर्ने धारणा पनि राख्नुभयो । महात्मा गान्धी विकेन्द्रीकरणका प्रणेता भएको भन्दै उहाले नेपालले पनि विकेन्द्रीकरणमार्फत् गाउँको विकासमा ध्यान दिनुपर्ने उहाको भनाई छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले शान्ति र अहिंसात्मक आन्दोलनका लागि गान्धीले खेलेको भूमिका अतुलनीय रहेको चर्चा गर्नुभयो ।
उहाले शान्ति र अहिंसाको राजनीतिले मात्र जनताको मन जित्न सकिने बताउनुभयो । त्यस्तै भारतीय राष्ट्रिय कांग्रेसका नेता एवम् पूर्व भारतीय बिदेशमन्त्री सलमान खुर्सिदले भारतको बिकास र परिवर्तनमा गान्धीले गरेको कामको चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा पार्टी उपसभापति विमलेन्द्र निधि, नेता कृष्णप्रसाद सिटौला, भारतीय जनता पार्टीका प्रवक्ता विजय सोनकर शास्त्री लगायतले गान्धीको योगदानको चर्चा गरेका थिए ।