मान्छे खाने बाघ चितवन निकुञ्जको नियन्त्रणमा, डार्ट गरेर खोरमा राखियो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

अबडेट:   मान्छेलाई आक्रमण गरि मार्ने बाघ चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिन सफल भएको छ। बेलसहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका भरतपुर–१३ का ६३ वर्षीय जन्हु चौधरीको शनिबार बिहान सवा १० बजे बाघको आक्रमणबाट मृत्यु भएको थियो।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामले अक्रमण गर्ने बाघलाई करिब पाँच घण्टाको प्रयासपछि अपराह्न नियन्त्रणमा लिइएको जानकारी दिएकाछन्। उनका अनुसार निकुञ्जका हात्ती, कर्मचारी, सेना तथा प्रहरीको सहभागितामा बाघलाई नियन्त्रणमा लिइएको हो।डार्ट गरिएको औषधियुक्त सुई प्रहार गरी लठ्याइएको बाघलाई निकुञ्जको हेडक्वाटर कसरामा रहेको खोरमा सुरक्षित राखिएको उनले बताए।

केही महिनाअघि पनि सोही क्षेत्रमा बाघको आक्रमणबाट स्थानीयको ज्यान गएको थियो। त्यतिखेरको आक्रमण पनि यही बाघले गरेको आशंका निकुञ्जको छ। मान्छे खान पल्किएको बाघका कारण अन्य मानवीय क्षति पनि हुन सक्ने भयका कारण उक्त बाघलाई नियन्त्रणमा लिइएको प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए।

उनका अनुसार नियन्त्रणमा लिइएको उक्त बाघलाई अब उसको व्यवहारको आधारमा छाडिने छ। ‘खोरमा राख्दाको बखत उसका गतिविधि कस्ता हुन्छन् त्यही अनुसार उसलाई छाड्ने या नछाड्ने निर्धारण गर्नेछौं,’ उनले भने, ‘व्यवहारमा सुधार आयो भने जंगलमा लगेर छाड्छौं। आएन भने यहीँ रहन्छ।’

रामका अनुसार पछिल्लो समयमा प्रायः बेलसहर सामुदायिक वन क्षेत्रमा रहने उक्त बाघ अन्दाजी १० वर्षको भाले बाघ हो। सामान्यतया बाघको आयु १४ देखि १५ वर्षको हुन्छ। ‘बुढो र दुब्लो रहेका कारण यो बाघको अवस्था के हुन्छ भन्न सकिन्न,’ उनले भने, ‘अहिलेका लागि हामीले सुरक्षित साथ खोरमा राखेका छौं।’

वनको गेटको नजिकै घर भएका चौधरीलाई वनको गेटबाट करिब चार सय मिटरभित्र रहेको ठाउँमा घाँस काट्दै गरेको अवस्थामा बाघले आक्रमण गरेको थियो। मृतकका छोराले बाबुलाई बाघले खाँदै गरेको देखेपछि अन्यलाई खबर गरेका थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *