महोत्तरीको गौशालामा सरकारको डोजर चल्यो, सरकारले बास खोसेको स्थानीयको आरोप

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

महोत्तरीमा अतिक्रमित सरकारी जग्गा फिर्ता अभियानलाई सरकारले तीव्रता दिएको छ । सोही क्रममा गौशाला नगरपालिको गौशाला बजार क्षेत्रमा निर्माण गरिएका ३० वटा घर टहरा डोजर लगाएर भत्काइएको छ ।

महोत्तरीको गौशाला बजार क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरि निर्माण गरिएका घर टहरामा आइतबार डोजर चलाइएको हो । गौशाला बजारको १५ कट्ठा जग्गामा निर्माण गरिएका संरचना भत्काउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल समेत गौशाला पुगेकी थिइन ।

यसअघि अतिक्रमित संरचना आफै हटाइदिन आग्रह गर्दै स्थानीय प्रशासनले ३५ दिने सूचना जारी गरेको थियो । स्थानीयले सूचनालाई अटेर गरेपछि डोजर चलाउनुपरेको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जानकारी दिएको छ ।

गौशाला नगरपालिका–५ स्थित निगौल गाई गौशालाको सरकारी जमिन बर्षौदेखि स्थानीय ३० ब्यक्तिले अतिक्रमण गरेर पूर्वाधार बनाएका थिए । केहीले ब्यापार तथा ब्यवसाय सञ्चालन गरिरहेका थिए । खोजी गर्दै जाँदा सो जग्गा सरकारी भएको खुलेपछि खाली गराउन पहल शुरु भएको हो ।

घरमा डोजर चलेपछि स्थानीयमा रुवाबासी चलेको थियो । अतिक्रमित जमिनमा बस्दै आएकाले सरकारले विकल्प नदिइ विस्थापित गराएको गुनासो गरेका छन् ।

अतिक्रमित जमिनमा चारवटा पक्की घर र अन्य कच्ची घरहरु थिए । स्थानीयले संरचना खाली गराउदा पर्याप्त सूचना नपाएको गुनासो गरेका छन् । जग्गा खाली गराउन पुगेकी मन्त्री अर्यालले भने कानुन ल्याएर सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने आश्वासन दिइन ।

गाई गौशालाका तत्कालीन व्यवस्थापक दीपनारायण राउतले आर्थिक चलखेल गरेर स्थानीयलाई सो जग्गा भोगचलन गर्न दिएको बताइएको छ । निगौल गाई गौशालाको अतिक्रमित जग्गा खाली गराउन पाँच बर्षअघि नै अदालतले आदेश दिएपनि त्यसको कार्यान्वयन हुन सकेको थिएन । गाई गौशालाको ५२ विगहा जग्गा अझै भेटिएको छैन ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *