महाष्टमी पर्व शनिबार बडादसैंका रुपमा दुर्गाभवानीको विशेष पूजा–आराधना गरी मनाइयो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व शनिबार बडादसैंका रुपमा दुर्गाभवानीको विशेष पूजा–आराधना गरी मनाइएको छ ।

महाष्टमी अर्थात नवरात्रिको आठौं दिन महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा–आजा गरि मनाइने गरिन्छ । विभिन्न शक्तिपीठहरुमा शनिबार महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गरि मनाइएको हो । प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्दै अष्टमीका दिन पूजा गर्ने चलन रहेको छ ।

देवीलाई बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिने प्रचलन रहेको छ । अष्टमीका दिन मानिसहरू आ–आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि समेत दिने प्रचलन रहेको छ । शाकाहारीहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन्।

अष्टमीको दिन कलपुर्जा, हातहतियार र सवारी साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएका स्थानमा राखी पूजाआजा समेत गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्रास्त्रका रुपमा मानी पूजा गर्ने गरिएको हो । देवीका शस्त्रास्त्रसहित चतुरङ्गिणी सेनाको पनि आह्वान गरी पूजा गरिन्छ ।

अष्टमीका दिन काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न भागमा रहेका शक्तिपीठमा बलिसहित पूजापाठ गर्नेहरुको बिहानैदेखि भीड लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण नगण्यमात्रामा बलिसहितको पूजा गरिएको छ । त्यस्तै विगत वर्षमा अष्टमीका दिन काठमाडौंको तलेजु भवानीको मन्दिर सर्वसाधारणको लागि खुल्ला गरिने गरिएपनि यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण खुला गरिएन । अष्टमीकै दिन दशैंघर हनुमानढोकाको मूल चोकमा तलेजु भवानीलाई ५४ राँगा र त्यत्ति नै बोका बलि अर्पण गरी कालरात्रि पूजा गर्ने गरिएकामा यस वर्ष कोरोनाका कारण स्थगन गरिएको छ ।

महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले विशेष महत्वका साथ महालक्ष्मी, महाकाली र महासरस्वतीको पूजा समेत गरिन्छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *