मंगलबारबाट पाँचौं चरणको चार्टर्ड उद्धार उडान,यस्तोछ नियम

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पाँचौं चरणको चाटर्ड उद्धार उडान पुनः मंगलबारबाट सुरु हुने भएको छ । यसअघि विभिन्न मुलुकबाट उद्धार गरी ल्याइएका अलपत्र नेपाली नागरिकलाई राख्ने होटल क्वारेन्टिन व्यवस्थापन भई नसकेको भन्दै सरकारले गत १ भदौदेखि नै सञ्चालनका लागि तय भएको उद्धार उडान केही दिन रोक्ने निर्णय भएको थियो । यसरी उद्धार गरी आएकाहरुले क्वारेन्टिनको खर्चभने आफैले व्यहोर्नु पर्ने छ । त्यसलगत्तै उत्पन्न चौतर्फी दबाबपछि अहिले सरकारले पुनः पाँचौं चरणको उद्धार उडान थालनी गर्न लागेको हो । गत गत ३२ साउनमा क्वारेटिन होटलको व्यवस्थापन हुन नसकेको भन्दै कोरोना कोभिड –१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको निर्देशनमा विदेशबाट नेपालीलाई ल्याउने उद्धार उडान अहिलेसम्म स्थगित भएको थियो ।

अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबारबाट स्थगित भएको उद्धार उडान पुनः सञ्चालन हुने गरी नयाँ तालिका तय गरेको छ । पर्यटन मन्त्रालयले सार्वजनिक गरेको यस नयाँ चाटर्ड उद्धार उडान तालिका अनुसार मंगलबार यूएईको सारजहाबाट एयर अरेबियाले त्यहाँ अलपत्र नेपालीलाई काठमाडौं ल्याउनेछ ।

यसैगरी, बुधबार इत्तिहाद एयरले आवुधाबी र फ्लाई दुबईले दुबईबाट त्यहाँ अलपत्र नेपाली यात्रु ल्याउनेछ । स्वदेशी वायुसेवा कम्पनीको उडान तालिका भने बिहीबार मात्र रहेको छ । आगामी बिहीबार मुलुकको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले रियाद र अर्को निजी लगानीमा सञ्चालित स्वदेशी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले दमामबाट त्यहाँ अलपत्र नेपाली यात्रु ल्याउनेछ ।

त्यसैगरी, आगामी बिहीबार नै युरोप र अमेरिकामा अलपत्र नेपाली यात्रुलाई टर्किस एयरलाइन्सले त्यहाँबाट बोकेर काठमाडौं ल्याउने गरी नयाँ उडान तालिका तय गरिएको मन्त्रालयले जनाएको छ । तर यस्ता विमानलाई एक पटकमा सयभन्दा बडी यात्रु नल्याउन निर्देशन दिइएको छ । अहिले सरकारले १६ भदौबाट भने नियमित उडान भर्ने निर्णय गरिसकेको छ । त्यसअघिका ८ दिनसम्म पाँचौं चरणको चाटर्ड उद्धार उडानलाई नै निरन्तरता दिन लागिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले यस्तो उद्धार उडानबाट स्वदेश फर्किने नेपाली यात्रुले अनिवार्य कोरोना संक्रमण नभएको पीसीआर रिर्पोटसँगै आफू बस्ने क्वारेन्टिन होटल बुकिङ गरेको विवरणसमेत लिएर आउनुपर्ने बताएको छ । यसैगरी, मन्त्रालयले पीसीआर नभएका यात्रु ल्याएको देखिएमा उनीहरूलाई क्वारेन्टिनमा राखेको सबै खर्च सम्बन्धित एयरलाइन्सले नै बेहोर्नुपर्ने बताएको छ ।

मन्त्रालयले जानकारी गराएअनुसार यस्तो उद्धार उडानमा सहभागी हुने वायुसेवा कम्पनीले विदेशस्थित नेपाली कूटनीतिक नियोगसँगको सहकार्यमा मात्र यात्रु ल्याउन पाउनेछन् । उद्धार उडानबाट नेपाल आइसकेपछि अब सबै यात्रु अनिवार्य ७ दिन सरकारले तोकिदिएका क्वारेन्टिन होटलमा अनिवार्य बस्नुपर्नेछ । यसरी बस्दाको खर्च व्यक्ति आफैंले बेहोर्नुपर्छ । अहिलेको निणर्यअनुसार सरकारले दैनिक ५ सय जना यात्रुलाई मात्र काठमाडांै भित्रिन अनुमति दिइएको छ ।

हाल सरकारले पाँचौं चरणको चाटर्ड उद्धार उडानमार्फत विभिन्न मुलुकबाट स्वदेश फर्किनेलाई सात दिनसम्म राख्न क्वारेन्टिन होटलको सूची नै बनाइदिएको छ । यस्तो चाटर्ड उद्धार उडानमा फर्कने अलपत्र कामदारले अब विदेशबाटै आफू बस्ने होटल अनलाइन बुकिङ गर्नुपर्नेछ । जसअनुसार विदेशबाट स्वदेश फर्किने हवाई यात्रुले तोकिएका पर्यटकीय स्तरदेखि ठूला पाँचतारे क्वारेन्टिन होटलमा बस्न एउटा कोठाको प्रतिदिन न्यूनतम १ हजार ८ सय देखि ९ हजार रुपैयाँसम्मका कोठा बुकिङ गर्नुपर्नेछ । यसमा खाना र खाजाको खर्च पनि समावेश गरिएको छ ।

कोरोनाका कारण जागिर गुमेर विभिन्न मुलुकमा अलपत्र भई स्वदेश फर्किएका कामदारले सरकारले अनिवार्य एक साता तोकिएको क्वारेन्टिन होटलमा बस्नुपर्दा अब हवाई उडानबाहेक थप होटल बुकिङ खर्चको भार पनि खप्नुपर्नेछ । अहिले सरकारले तोकिदिएको होटल खर्चमा सबैभन्दा सस्तो पर्यटकस्तरीय होटलको एउटा कोठामा दुई जना मिलेर बस्दा पनि न्यूनतम प्रतिव्यक्ति १ हजार ८ सय रुपैयाँ थप आर्थिक भार खेप्नुपर्नेछ ।

तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको निणर्यमा होटल क्वारेन्टिनमा बस्नुपर्ने गरी हवाई उडानबाट नेपाल आउने यात्रुलाई हवाई टिकट जारी गर्दाकै अवस्थामा होटल क्वारेन्टिनमा बस्दा लाग्ने खर्चसमेत सम्बन्धित यात्रुबाट लिनुपर्ने उल्लेख छ । यसरी उठाइएको होटल क्वारेन्टिनबापतको रकम सम्बन्धित होटललाई भुक्तानी गर्ने दायित्व सम्बन्धित एयरलाइन्सको हुने उल्लेख छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *