भारतविरुद्ध नाराजुलुश नगर्न देउवाले दिए नेविसंघलाई कडा निर्देशन

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका भातृ संगठनका नेताहरुलाई भारतविरुद्ध सडकमा नारा जुलुश नगर्न कडा निर्देशन दिएका छन् । पछिल्लो समय लिपुलेक र कालापानीको सीमा विवादबारे नेपाल विद्यार्थी संघले ठाउँ ठाउँमा नारा जुलुश गरेर भारतको विरोधमा प्रदर्शन गरिरहेको छ ।
यो बीचमा देउवाले पनि भारतविरोधी आन्दोलन र संघर्षलाई जारी राख्न निर्देशन दिएका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा हालै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वपक्षीय बैठकमा भारतसँग कुटनीतिक रुपमा सीमा विवादको समाधानको लागि पहल गरिने र यसको लागि सबै दल एकमत हुने निश्कर्ष निकालेपछि देउवाले अब भारतविरोधी आन्दोलन नचर्काउन नेविसंघका नेताहरुलाई निर्देशन दिएका हुन् । स्रोतकाअनुसार आजमात्रै पनि देउवाले आफूनिकटका नेताहरुसँग छलफल गरेका थिए । उनले भारतकोभन्दापनि सरकार विरुद्धमा उत्रिनुपर्ने निश्कर्ष निकालेका हुन् ।
भारतले हालै निकालेको नयाँ राजनीतिक नक्शामा लिपुलेक र कालापानी क्षेत्र आफ्नो नक्शामा पारेपछि नेपालमा भारतको विरुद्धमा सबै दल, यसका भातृ संगठनहरुले आन्दोलन गरिरहेका छन् । संसदीय समितिमा पनि यसबारेमा छलफल भैरहेको छ । सरकारले कुटनीतिक माध्यमबाट भारतसँग कुरा गरेर विवाद हल गर्ने आश्वासन दिँदै आएको छ । प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग कुरा गर्ने तयारी गरिरहेको बालुवाटार स्रोतले जनाएको छ ।