भारतमा नागरिकताको तनाव, नेपालमा ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं _भारतमा नागरिकता कानुन विवादास्पद तरिकाले संशोधन गरिएपछि पूरै दक्षिण एसियामा तरंग आएको छ । भारतले नागरिकता कानुन संशोधन गरेपछि बंगलादेश, पाकिस्तान र अफगानस्तानले रोषपूर्ण टिप्पणी गरेका छन् । भारतीय कानुन संशोधनबाट नेपाललाई पनि असर पर्ने देखिएको छ ।

पाकिस्तासँग भारतको सत्रुता भए पनि बंगलादेशसँग राम्रै सम्बन्ध थियो । भारतले बंगलादेशलाई लान्छित गर्दै नागरिकता कानुन संशोधन गरेपछि बंगलादेशी मन्त्रीहरुले भारत भ्रमण रद्द गरेका छन् । बंगलादेश र भारतको सम्बन्ध चीसो भएको छ ।

दक्षिण एसियालाई नै तरंगित बनाउने भारतीय नागरिकता कानुन संशोधन प्रकरणबाट नेपालले पनि शिक्षा लिनुपर्ने भएको छ ।

भारतमा हालै नागरिकता कानुन संशोधन गरिएको हो । कानुन संशोधन भएपछि भारतमा तिब्र प्रतिक्रिया उत्पन्न भएको छ । सो संशोधनपछि पूर्वाेत्तर भारतका राज्यहरुमा हिंसात्मक प्रदर्शन भइरहेको छ ।

भारत सरकारले दुई वर्ष अघि नागरिकता कानुन संशोधन गर्न संसद्मा विधेयक पेस गरेको थियो । सो विधेयक तल्लो सदन लोक सभाबाट पारित भए लगत्तै माथिल्लो सदन राज्य सभाबाट पनि मंलगबार पारित भएको हो ।

नेपालमा पनि नागरिकता ऐन संशोधन गर्ने विधेयक विचाराधीन छ । प्रतिनिधि सभामा सरकारले गत वर्ष २३ साउनमा नागरिकता विधेयक (संशोधन) दर्ता गरेको थियो । सो विधेयक अहिले संसदीय समितिमा विचाराधीन छ ।

यस्तो छ भारतीय संशोधन

भारतको वर्तमान सरकार सञ्चालन गर्ने भारतीय जनता पार्टी त्यहाँका अल्पसंख्यकहरुप्रति अनुदार मानिन्छ । खासगरी मुसलमान विरुद्ध सरकार नै लागिरहेको भन्दै भारतमा विरोध हुँदै आइरहेको छ ।

सरकारले अल्पसंख्यक तथा मुसलमान विरुद्ध नागरिकता कानुन संशोधन गरेको भन्दै भारतमा विरोध प्रदर्शन भइरहेको हो ।

नागरिकता कानुन धर्मका आधारमा संशोधन गरिएको छ । सो संशोधन मुख्यत तीन देशलाई लान्छित गर्ने तरिकाले गरिएको छ ।

बंगलादेश, अफगानस्तान र पाकिस्तानबाट आएका हिन्दू, शिख, बौद्ध, पारसी, जैन र इसाईलाई नागरिकता दिने तर त्यहाँबाट आएका मुसलमानलाई चाहिँ नदिने गरी कानुन संशोधन गरिएको हो । ती तीन देशमा गैरमुसलमानलाई दमन गरिएको भन्दै ती देशबाट आएका गैर मुसलमान आप्रवासीलाई नागरिकता दिने गरी भारतले कानुन संशोधन गरेको हो ।

यसरी संशोधन गरिएपछि मुसलमान तथा अल्पसंख्यकहरुले विरोध गरेका हुन् ।

अल्पसंख्यकहरुले चाहिँ आफ्नो भूमिमा विधर्मी विदेशी आप्रवासीहरुको बाहुल्य हुने भयो भनी विरोध गरेका हुन् । भारतको संविधानले देशलाई धर्मनिरपेक्ष बनाएको छ तर नागरिकता कानुन भने धर्मको आधारमा संशोधन गरिएको छ ।

संशोधनको उद्देश्य

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपा हिन्दूवादी हो । भारतलाई मुसलमान जनसंख्याबाट खतरा रहेको विचार भाजपाको रहँदै आएको छ । भारतमा अन्य धर्मावलम्बीको जनसंख्या बढाउने तर मुसलमानको जनसंख्या बढ्न नदिने भाजपाको नीति नागरिकता कानुन संशोधनबाट झन् प्रष्ट भएको छ ।

नरेन्द्र मोदीले आफ्नो देशमा कस्तो जनसंख्या बढाउने, कस्तो जनसंख्या घटाउने भन्ने अभीष्ट नागरिकता कानुन संशोधन गरेर प्रष्ट पारेका छन् ।

भारतीय गृहमन्त्री अमित शाहले अन्य देश पनि नागरिकता दिने मामिलामा अनुदार हुँदै गएको जिकिर गर्दै नागरिकता कानुन संशोधन औचित्यपूर्ण भएको बताएका छन् । उनले अमेरिकाको उदाहरण दिँदै भारतीयलाई अमेरिकाले नागरिकता दिन छाडेको बताएका छन् ।

अमितले हरेक देशले नागरिकता कानुन आफ्नो देशको हितमा बनाउने गरेको भन्दै भारतले पनि आफ्नो हितमा नागरिकता कानुन संशोधन गरेको बताएका छन् ।

नेपाललाई पाठ

भारतले नागरिकता कानुन संशोधन गरेपछि त्यसको असर नेपाललाई पनि पर्ने देखिन्छ । पहिलो असर पूर्वाेत्तर भारतमा अहिले भइरहेको र भविष्यमा पनि हुनसक्ने अशान्ति हो । पूर्वाेत्तर भारत पूर्वी नेपालको पूर्वी सीमाबाट नजिक छ । दोस्रो असर भनेको भारतको अनुदार हुँदै गएको राज्यसत्ताका कारण नेपाललाई आइलाग्ने खतरा हो ।

भारतले नेपालको नागरिकता कानुन आफ्नो हितमा हुनुपर्छ भन्दै आइरहेको छ । नेपालको संविधानमा आफूले भने जस्तो नागरिकता प्रावधान नराखेको भन्दै भारतले नाकावन्दी लगाएको थियो । अहिले प्रतिनिधि सभामा विचाराधीन विधेयकमा पनि भारतको उच्च चासो रहेको जगजाहेर छ ।

भारतले आफ्नो देशमा धर्मका आधारमा नागरिकता कानुनलाई अगाडि बढाएको छ भने नेपालमा चाहिँ लिंगका आधारमा नागरिकता कानुन हुनुपर्छ भनिरहेको छ । नेपालमा आमाको नाममा नागरिकता दिने व्यवस्था राखियोस् भन्ने भारतको चाहना छ । नेपालमा आमाको नाममा नागरिकता दिइएमा केही दशकमा नेपालमा भारतीय मूलका मानिसको जनसंख्या बहुमतमा पुग्नेछ ।

नेपालको नागरिकता कानुन फितलो बनाउन लगाएर उत्तर भारतको जनसंख्या नेपालमा विस्थापन गर्ने भारतीय चाहना देखिन्छ । नाकावन्दी सुरु गर्दा भारतका तत्कालीन गृहमन्त्री राजनाथ सिंहले नेपालमा एक करोड भारतीय छन्, उनीहरुको हित भारतले हेर्छ भनेका थिए ।

भारतमा धार्मिक विभाजन तिब्र भएको छ । नागरिकता कानुन संशोधनका कारण आगामी दिनमा भारत अस्थिर बन्न सक्छ । भारतको आर्थिक वृद्धिदर घट्दै गइरहेको छ, अशान्तिका कारण वृद्धिदर झन् घट्न सक्छ । यसको असर पनि नेपाललाई पर्न सक्छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *