भएको जहाज थन्काएर नयाँ जहाज खरिद गर्न निगमलाई मन्त्री भट्टराईको निर्देशन
नेपाल वायुसेवा निगम एनएसी लाई नयाँ जहाज खरिद गर्ने प्रक्रियाअघि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले निर्देशन दिएका छन् । बुधबार मन्त्रालयमा निगमका पदाधिकारीहरुसँग छलफल गर्दै मन्त्री भट्टराईले यस्तो निर्देशन दिएका हुन् । हिमाली, पहाडी तथा दुर्गम क्षेत्रका नागरिकहरुलाई सेवा उपलब्ध गराउने आन्तरिक उडान तर्फ जहाज कम भएको भन्दै थप जहाज खरिद गर्ने गरी योजना तत्काल अघि बढाउन निगमलाई मन्त्री भट्टराईले निर्देशन दिए ।
योसँगै नेपाल एयरलाइन्सलाई अब चिनियाँ जहाज थन्काएर नयाँ जहाज किन्ने बाटो समेत खुलेको छ । त्यसो त हाल आन्तरिक उडान तर्फ निगमसँग चार वटा मात्र जहाज रहेकोमा त्यसमा पनि चिनियाँ जहाज बाहेकका दुई वटा टुइनअर्टर जहाज मात्र संचालनमा छन् ।
विग्रिएर ग्राउण्डेड भएका चिनियाँ जहाज यसअघिनै अब नउडाउने निर्णय भइसकेको छ । हाल संचालनमा रहेका दुई वटा टुइनअर्टर जहाजसमेत चार दशक पुराना भएका कारण धेरैजसो समय ग्राउन्डेड हुने गरेकाले यी जहाजले मात्र आन्तरिक उडानको माग धान्न नसक्ने मन्त्रालयको भनाइ छ ।
यसैकारण दुर्गभ भेगका जनता हवाई सेवाबाट वञ्चित हुनु परेको भन्दै मन्त्री भट्टराईले नयाँ जहाज खरीदको प्रक्रिया थाल्न निर्देशन दिएका हुन् । साथै मन्त्री भट्टराईले अब निगमलाई पब्लिक मोडलमा लैजानसमेत सोच्न निगमलाई निर्देशन दिए ।
नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरेको उपस्थिति रहेको बैठकमा मन्त्री भट्टराईले अब निगमले पब्लिक मोडलमा जाने बारे सोच्नु पर्ने बताए । यसका लागि नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयसँग समेत आवश्यक छलफल गरी खाका बनाउन मन्त्री भट्टराईले निगमलाई निर्देशन दिए ।
नेपाल एयरलाइन्स ऐतिहासिक नेपाली ध्वजाबाहक एयरलाइन्स भएकोले यसको साख जोगाउने गरी काम गर्नु पर्ने मन्त्री भट्टराईको भनाइ थियो ।यसका लागि आवश्यक योजना बनाई अघि बढ्न र कर्मचारी व्यवस्थापन तथा खर्च कटौतीमा समेत सोच्न निगमलाई मन्त्री भाट्टराईको आग्रह थियो ।
बैठकमा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष, विभिन्न विभागका प्रमुख लगायत मन्त्रालयका उच्च पदस्त व्यक्तित्वहरु सहभागी रहेका थिए ।