बौद्ध गोलीकाण्ड : गुण्डा नाइकेलाई घरमा समातेर डाँडामा लगेर गोली प्रहार !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ – आइतबार बौद्धको जोरपाटीस्थित जम्बुडाँडामा प्रहरीले गुण्डा नाइके भनेर चिनिएका सिन्धुपाल्चोकका विष्णु लामालाई गोली चलाएको प्रकरणमा नयाँ ट्वीस्ट आएको छ ।

लामाले प्रहरीमाथि आक्रमण गर्न खोजेपछि गोली चलाइएको प्रहरीले दावी गरेपनि हाल उपचार गराइरहेका लामाले भने प्रहरीले घरमा समातेर योजनाबद्ध रुपमा जम्बुडाँडा लगेर गोली हानेको दावी गरेका छन् ।

लामालाई महानगरीय प्रहरी वृत्त, बौद्धबाट खटिएका प्रहरी सहायक निरीक्षक असई को कमाण्डमा खटिएको टोलीले गोली हानेर नियन्त्रणमा लिएको थियो ।

गोली लागेर घाइते भएका लामा राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत छन् । अस्पतालमा महानगरीय प्रहरी वृत्तका सादा पोसाकमा खटिएका एक जवानले लामाको निगरानीमा छन् ।
लामाको दुवै खुट्टामा गोली लागेको छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेलले नै लामामाथि एउटा गोली खर्च भएको बताए ।

घरबाटै समातिएका थिए लामा

प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको भनिएका लामालाई सादा पोसाकमा पुगेको प्रहरी टोलीले बौद्धस्थित मेडिकल कलेज नजिकै रहेको कोठाबाट समातेको पाइएको छ ।

ट्रमा सेन्टरमा उपचार गराइरहेका लामाले कुराकानीमा भने, ‘सादा पोसाकमा पुगेको टोलीले ३ बजे घर नजिकैको खाजापसलमा खाजा खाइरहेको बेला मलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।’

घरबाट नियन्त्रणमा लिने बित्तिकै हत्कडी लगाएर ट्याक्सीमा राखिएको लामाले बताए । ‘२ घण्टा बौद्ध आसपासमै ट्याक्सीमा घुमाएर ५ बजेतिर मात्र जम्बुडाँडा पुर्याइएको थियो,’ लामाले दावी गरे ।

‘त्यतिबेला अँध्यारो भएको थियो । कोही कसैले देख्दैनथे । मलाई ट्याक्सीबाट झर्न आग्रह गरे,’ लामाले अगाडि भने, ‘ट्याक्सीबाट झर्ने बित्तिकै घुँडामा पेस्तोल राखेर गोली हानियो । दुवै खुट्टामा लाग्यो ।’

गोली लाग्ने बित्तिकै लामा भुँइमा ढले । लगत्तै प्रहरीले उनलाई अस्पताल लैजानुको साटो बौद्ध वृत्त लगेको थियो । त्यसपछि मात्रै लामालाई उपचारको लागि भन्दै ट्रमा सेन्टर पुर्याएको थियो ।

लामाले भने, ‘नजिकै प्रहरी भ्यान राखिएको रहेछ । त्यही भ्यानमा राखेर बौद्ध वृत्तमा ल्याइयो । मलाई त्यसपछि अर्को प्रहरी भ्यानमा राखेर अस्पताल ल्याइएको हो ।’रातोपाटि

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *