बाजुराको दुर्गम स्थानमा फलेको अग्र्यानिक स्याउले पाए पहिलो पटक बजार

बाजुरा- बाजुराको दुर्गम स्थानमा फलेका अग्र्यानिक स्याउ पहिलो पटक जिल्ला बाहिर काठमाडौँ र धनगढी पुगेको छ ।
बोटमै स्याउ फलेर कुहिने अवस्था भएपछि कृषि ज्ञान केन्द्र बाजुराले ढुवानी अनुदान दिएपछि पहिलोपटक जिल्ला बाहिर शहरी क्षेत्रमा स्याउ पुगेको कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख गोविन्द सिजापतीले जानकारी दिएका छन् ।
किसानका स्याउ बारीमै कुहिने अवस्था भएपछि कृषि ज्ञान केन्द्र बाजुराले ६०० क्विन्टल ढुवानी अनुदानमार्फत बजारसम्म पुर्याउन शुरु गरेको हो ।
सहकारी संस्थामार्फत बारीबाट बजारसम्म स्याउ ढुवानी हुन थालेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । पहिलोपटक काठमाडौँमा १०० क्विन्टल, धनगढीमा ६० क्विन्टल स्याउ लगिएको छ । बाँकी मार्तडी, कोल्टीलगायतका स्थानीय बजार पुर्याइने भएको छ ।
ढुवानी अनुदान पाएको सहकारी संस्थाले नै खरीद बिक्री गर्ने भएको छ । सहकारीले पूर्वउत्तरी क्षेत्र स्वामीकार्तिक खापर गाउँपालिकाबाट ए ग्रेडको प्रतिकेजी रु २५, बी ग्रेडको रु २० र सी ग्रेडको रु १५ प्रतिकेजीका दरले खरीद गर्ने गरेको छ ।
त्यस्तै बूढीनन्दा नगरपालिकाको पाण्डुसेनबाट ए ग्रेडको प्रतिकेजी रु ५५, बी ग्रेडको रु ५० र सी ग्रेडको रु ४५ मा खरीद गरेर ढुवानी भएको छ ।
पाण्डुसैन सदरमुकाम मार्तडीबाट करीब ३१ किलोमिटरको दूरीमा रहेको छ, भने स्वामिकार्तिक खापर गाउँपालिकाको स्याउ उत्पादन हुने ठाउँ पुग्न करीब दुई दिन लाग्ने गर्दछ ।
सदरमुकाम मार्तडीमा भने प्रतिकेजी स्याउको मूल्य रु १५० देखि १८० सम्म रहेको छ । उता बारीमा स्याउ टन्न फलेका छन तर बजार टाढा छ ,बाटोघाटोको राम्रो सुबिधा छैन।जसले गर्दा लटरम्म फलेका स्याउले बजार पाउन सकिरहेको अवस्था छैन । यता बजारमा भारतीय स्याउले कब्जा जमाउदै आएका छन ।
गरिब बासिन्दाको स्याउले बजार पाए उनिहरुको जिवनस्तरमा समेत सुधार आउने पक्पा भएपनी त्यसो हुनसकेको छैन ।तर यसपटक केहि स्याउ जिल्ला बाहिर जाँदा स्थानीय कृषक निकै खुशी भएका छन् ।
स्याउको मुख्य भण्डारका रुपमा चिनिँदै आएको जिल्लाका पाण्डुसैन, कोल्टी, जुकोट, जगग्ननाथ, कोटिलालगायतका स्थामा यसपटक स्याउ राम्रोसँग फलेको छ । स्याउकै हाँगा भाँच्चिने गरी फल लागेको भए पनि बिक्री नहुँदा स्याउ किसान भैँसीलाई कुँडो खुवाउन बाध्य हुने गरेको स्थानीयले गुनासो गर्ने गरेका छन ।
यस वर्ष भने थोरै भए पनि आफ्नै बारीबाट स्याउ ढुवानी भएपछि किसानलाई राहत भएकोमा किसानले बताएका छन् ।
बाजुरामा हाल २३० हेक्टर क्षेत्रफलमा स्याउ लगाएको कृषि ज्ञान केन्द्र बाजुराको तथ्याङ्क छ । जिल्लामा स्याउ एक हजार ५० मेट्रिक टन उत्पादन हुने कृषि प्रसारले जानकारी दिएको छ ।
बाजुराको यो क्षेत्रमा खाद्यान्न सङ्कट हुने गरेको छ । वर्षभरि काम गरेर खेतको उत्पादनले तीन महीना पनि खान पुग्दैन, बाँकी समय बाहिरको खाद्यान्नमाथि निर्भर बन्नुपर्ने बाध्यता रहेको छ ।
गाउँसम्म सडकको पहुँच नभएकाले बाजुराका स्याले बजार पाउन सकेका छैनन् ।