बाग्लुङकाे तामा खानी विवाले गर्दा अवरुद्ध

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बागलुङ नगरपालिका वडा नम्बर ९ तित्याङमा तामा खानी उत्खन्नको अनुशन्धान अवरुद्ध भएको छ । स्थानियबासी र अनुशन्धान कम्पनी विच विवाद हुँदा अनुशन्धानको काम अवरुद्ध भएको हो । खानीमा अनुशन्धानको लागि अनुशन्धान कम्पनीले बम डिस्पोज गरेपछि स्थानियहरुले काम अवरुद्ध गरेका छन् । सुरुवातमा डिलिङ मेसिनले सुरुङ खन्ने बताएपनि अहिले स्थानियहरुलाई थाहै नदिइ बम डिस्पोज गरेको स्थानियहरुबासिको गुनासो छ ।

उनीहरुले बम डिस्पोज गर्दा घरहरु थर्केको , घरमा राखिएका भाडाहरु खस्ने, गाइभैसीहरु तर्सने भएकाले आफुहरुले काम बन्द गर्न लगाएको स्थानिय सुवास जिसीले बताए । बम डिस्पोज गर्दा गाउँ नै हलिएको र घरहरु भत्किने अवस्थामा पुगेको भन्दै मानविय सुरक्षाको प्रत्याभूति नहुँदा सम्म काम गर्न नदिने बताए ।

स्थानिय जिसीले २८ घर मुनिबाट खानीमा बम डिस्पोज गर्दा पुरै गाउँको सुरक्षा नहुने भएकाले पहिले बस्तीको व्यवस्थापन गरिदिनुपर्ने माग गरिरहेका छन ।उनले तीन दिनदेखि काम अवरुद्ध भएपनि पुनः काम गर्न लागेकाले स्थानिय महिलाहरुले अवरोध गर्दा उनीहरु माथि चिनियाँ कामदारहरुले हातपात गरेको आरोप लगाएका छन् । ‘गाउँको र स्थानियहरुको सुरक्षा दिएपछि मात्र काम गर्न दिने भन्दै केही दिनदेखि काम रोकिएको थियो’ स्थानिय जिसीले भने–‘अब चिनियाँ कामदारहरुले काम गर्न लाग्दा स्थानिय महिलाहरुले काम नगर्न अनुरोध गर्दा उनीहरु माथि हातपात गरेछन । त्यो थाहा पाएपछि युवाहरु जाँदा युवाहरु माथिपनि काम गर्ने साधनले हातपात गर्न खोजे ।’

खानी अनुशन्धानको काम गरिरहेको सुभम ग्रुपका प्रतिनिधि श्याम अधिकारीले चिनियाँहरुले काम गरेको फोटो खिच्न गएको बेला स्थानियहरुले हातपातमा उत्रेको र चिनियाँहरुले केहि नगरेको बताए । उनले स्थानियहरुले आफै हातपातमा उत्रिने र उल्टै हातपात गरे भन्ने आरोप लगाएको बताए । उनले स्थानियहरुसँगको सहकार्यमा आफुहरुले काम गरिरहेको बताए । ‘हामीले स्थानियहरुलाई रोजगारी सिर्जना गर्दै अनुशन्धानको काम गरिरहेका छौं’ कम्पनीका प्रतिनिधि अधिकारीले भने–‘स्थानियहरु उल्टै हतियार ल्याएर बन्द गर्न धम्की दिइरहेका छन् हामीले केहि गरेका छैनौं । तर उल्टै हामीले हातपात गरेको आरोप लगाएछन ।’

जोम्बीङ इन्ड्रेस्टिलको प्राविधिक सहयोगमा सुभम ग्रुपले ४ महिनादेखि तित्याङमा खानीको अनुशन्धानको काम गरिरहेको छ । ग्रुपले सुरुवात समयमा डिलिङ मेसिनले खन्ने निर्णय भएपनि विचमा साह्रो ढुंगा परेको कारण रक्षा मन्त्रालय र खानी विभागसँग स्विकृती पाएर नेपाली सेनाले बम डिस्पोज गरेको अधिकारीले बताए । उनले स्थानियस्तरमा पनि समिति रहेको र उक्त समितिलाई बम डिस्पोज गर्नुपर्ने जानकारी गराइएको र उनीहरुसँग सहकार्य गरेरै काम भइरहेपनि एक दुई जना स्थानियको कारण काममा अवरोध भएको बताए ।

उनले स्थानियहरुको घरको इन्स्योरेन्स गरिदिने र अनुशन्धानपछि खानी उत्खन्न गर्नुपरेमा बस्ती व्यवस्थापन गरिदिने सहमतिमा काम भइरहेपनि अहिले नै गरिदिनुपर्ने भन्दै स्थानियहरुले काममा अबरोध गरेको बताए । उनले छलफल गरौंभन्दा स्थानियहरु नै नमान्ने तर काममा अवरोध गर्ने गर्दा समस्या समाधान नभएमा आफुहरु काम नगरि फिर्ता हुने बताए ।

उनले अनुशन्धानको लागि आर्मिको टोली, चिनियाँ विशेषज्ञ र खानी विभागका अनुशन्धानकर्ताहरु रहेकाले उनीहरुको सल्लाह अनुरुप काम भइरहेको जानकारी दिए । बागलुङ नगरपालिका वडा नम्बर ९ तित्याङका वडाअध्यक्ष गणेश थापाले स्थानियहरु र कम्पनीसँग छलफल गरि समस्याको समाधान गर्न स्थानिय तह रहेपनि स्थानियहरु नै तयार नभएको बताए ।

उनले राष्ट्रिय गौरवको आयोजना भएकाले बस्तीलाई विस्थापित गर्न नखोजेको भन्दै अनुशन्धान सफल भएमा सम्पूर्ण वडाबासीलाई फाइदा हुने भएकाले सवैले सहयोग गर्नुपर्ने बताए । अध्यक्ष थापाले सिंगो बस्तीका बासिन्दाहरु नभइ १, २ जनाको कारण खानीको अनुशन्धानमा समस्या भइरहेको पाइएकोले त्यसको समाधानको लागि स्थानिय तहले समन्वय गरिरहेको बताए । वडाअध्यक्ष थापाले नगरपालिकाले खानीहरुको उत्खन्नको लागि निर्णय गरेको र त्यसै अनुरुप अनुशन्धानको लागि अहिले काम भइरहेकोले स्थानियहरुसँग सहकार्य गरेर काम अगाडी बढाउने बताए । उनले खानी उत्खन्न भएपछि स्थानियहरुले रोजगार पाउने र सवैलाई फाइदा हुने भएकाले सवैले अनुशन्धानमा सहयोग गर्नुपर्ने बताए ।

खानीमा विवाद उत्पन्न नभइ नियमित काम गर्न पाएमा १ महिना भित्र अनुशन्धानको काम सम्पन्न गरिने कम्पनीका प्रतिनिधि अधिकारीले जानकारी दिए । उनले खानीभित्र कम्तीमा ५० मिटर र बढीमा १०० मिटर सुरुङ खनेपछि मात्र उत्खन्न गर्न मिल्ने वा नमिल्ने थाहा हुने भएकाले सुरुङ खनेर त्यसको ल्याब टेष्ट गरेपछि आफुहरुले प्रतिवेदन खानी विभागलाई दिने बताए । उक्त प्रतिवेदनको आधारमा खानी विभागले उत्खन्नको लागि स्विकृती प्रदान गर्नेछ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *