बागलुङ बाढी प्रभावित कोषमा १ करोड ६५ लाखभन्दा बढी जम्मा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बागलुङको ढोरपाटनका बाढी प्रभावितको राहतका लागि खोलिएको कोषमा १ करोड ६५ लाख भन्दा बढी सहयोग जुटेको छ। राहत वितरणमा एकद्वार प्रणाली कायम गर्न ढोरपाटन नगरपालिकाले कोष स्थापना गरेको थियो।

कोषको रकम बाढीले उठिबास भएका परिवारको घर पुनःनिर्माणमा खर्च गर्ने नगरपालिकाको योजना छ। सहयोग आउने क्रम जारी नै रहेको ढोरपाटनका मेयर देवकुमार नेपालीले जानकारी दिए।

“राहत कोषमा जम्मा भएको रकमले दाताकै नाममा घर बनाइदिन्छौँ”, मेयर नेपालीले भने, “सङ्घ र प्रदेश सरकारबाट पनि सहयोगको प्रतिबद्धता आएको छ, अपुग भएमा नगरपालिकाले बजेट थप्छ।”

उनका अनुसार अहिलेसम्म सबैभन्दा बढी गलकोट समाज जापानमार्फत २७ लाख ८० हजार सहयोग प्राप्त भएको छ। यस्तै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा बागलुङले १९ लाखभन्दा बढी प्रदान गरेको छ।

प्रभु ब्याङ्कले बिहीबार ५ लाख सहयोग गरेको नगरपालिकाले जनाएको छ। बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले मेयर नेपालीलाई ५ लाखको चेक हस्तान्तरण गरे।

बाढी प्रभावित परिवारको पुनःस्थापनाका लागि देश–विदेशमा राहत अभियान चलाइएको छ। कतिपय व्यक्ति, संस्थाले नगरपालिकाको कोषमा जम्मा नगरी बाढीग्रस्त ठाउँमै पुगेर राहत बाँडिरहेका छन्।

गत भदौ १७ गते भूजीखोलामा आएको बाढीमा परी २२ जनाको ज्यान गएको छ भने १५ अझै बेपत्ता छन्। ढोरपाटन नगरपालिका–९, ८ र ७ का सयौँ परिवार घरबासविहीन बनेका छन्। सडक, पुल, खानेपानी, सिँचाइ, लघुजलविद्युत्, विद्यालय, सामुदायिक स्वास्थ्य एकाइलगायत कैयौँ भौतिक संरचना क्षतिग्रस्त बनेका छन्।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *