बंगलादेशले पैंचोमा मल दिन मानेन, किनेर ल्याउने तयारी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बंगलादेशले ५० हजार मेट्रिक टन युरिया मल सापटीमा नभई खरिद गरेर लैजान नेपालसँग प्रस्ताव गरेको छ। सरकारले गत भदौ १५ गते बंगलादेशसँग ५० हजार टन मल पैँचो मागेर ल्याउने निर्णय गरेको थियो।तर बंगलादेशले सापटीमा भन्दा आफ्नै कम्पनीबाट मल खरिद गरेर लैजान भनेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उक्त प्रस्ताव मन्त्रिपरिषद्‍मा पठाउने तयारी गरेको छ। मन्त्रालयका एक जना उच्च अधिकारीका अनुसार अब नेपालले ५० हजार मेट्रिक टन युरिया मल बंगलादेशकै कम्पनीसँग किन्नेछ।

‘हामीले पहिला ५० हजार मेट्रिक टन बंगलादेशबाट ल्याउने र सोहि परिमाणमा पछि फिर्ता गर्ने प्रस्ताव राखेका थियौं। तर विश्व बजारमा मलको मूल्य थपघट भईरहने, गुणस्तरमा तलमाथि पर्नसक्ने र भन्सार शूल्कलगायतका विषयमा झन्झट हुने देखियो‚’ ती अधिकारीले भने। कति मूल्यमा खरिद गर्न लागिएको हो भन्ने विषयमा जिज्ञासा राख्दा ती कर्मचारीले भने ‘जुन दिन नेपालले भन्सारमा मल पाउँछ, त्यो दिनको विश्व बजारमा मलको मूल्य हेरेर त्यसको औसत निकाली निर्धारण हुनेछ। र मल किनेको पैसा नेपालले ६ महिनाभित्र भुक्तानी गरिसक्नुपर्नेछ।’

यसअघि बंगलादेशले २ पटकसम्म सापटमा नभइ खरिद गरेरै लैजान भन्दै सम्झौताको मस्यौदा पठाएको थियो। मल खरिद गरेरै ल्याउनुपर्ने अवस्था आएपछि कृषि मन्त्रालयले अर्थ मन्त्रालय र कानून मन्त्रालयसँग त्यसको सहमति लिइसकेको छ। ‘बंगलादेशले सापटमा भन्दा खरिद गरेरै पठाउन जोडबल गर्यो। खरिद नगर्ने हो भने अब मल ल्याउने हामीसँग त्योबाहेक अरु विकल्प पनि रहेन‚’ मन्त्रालयका ती अधिकारीले भने।

दुईवटा ठेकेदार कम्पनीले मलका ठेक्का अलपत्र पारेपछि हिउँदेबालीका लागि सरकारले बंगलादेशसँग मल पैंचो माग्ने निर्णय गरेको थियो। सापटमा मल ल्याउने भनेर कृषि सामग्री कम्पनी लिमिटेडमार्फत् ढुवानीका लागि ठेक्कापट्टा भइसकेको छ। एलसीसमेत खोलिसकेको छ। तर अब जिटुजी प्रकृयामै मल खरिद हुनेभएपछि कानून मन्त्रालयबाट नीतिगत राय, अर्थमन्त्रालयबाट बजेट विनियोजन र मन्त्रिपरिषदबाट खरिद सम्बन्धी निर्णय गर्न लागिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *