प्यूठानको मल्लरानीमा पर्यटन सडकको काम तिव्र

प्यूठान सदरमुकाम खलंगासँग जोडिएको पर्यटन क्षेत्र मल्लरानी जोड्ने सकड निर्माणको काम तिव्र रुपमा अघि बढेको छ । ग्राभेल सहितको स्तरोन्नतीको काम धमाधम भैरहेको हो । संघीय सरकार र मल्लरानी गाउँपालिकाको समपुरक बजेट मार्फत सडक स्तरोन्नतीको काम सफल-मल्लरानी जे.भि निर्माण कम्पनीले गरिरहेको छ ।
साढे तीन किलो मिटरको सडक निर्माणका लागि कम्पनीले १ करोड २८ लाख भ्याट बाहेक रकममा निर्माण जिम्मा लिएको ठेकेदार कम्पनी प्रतिनिधि केशव खड्काले जानकारी दिए ।मल्लरानी पर्यटन क्षेत्रको विकासका लागि डिपिआर गरि गाउँपालिकाका प्राथमिकताका योजनाहरुमा समेटेर काम भैरहेको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत कमान सिंह केसीले बताए । ८ करोड लागत स्टीमेट डिपिआरमा छ ।
करिव ३ किलोमिटर ५ सय मिटर सडकमा जालि लगाउने, मेसिनरी वाल निर्माण, पक्की नाली निर्माणको काम सम्पन्न भएको छ । स्थानीय श्रोत साधनको उपयोग गरी गिट्टी र माटो मिसाएर ग्राभेल गर्ने र त्यसमा रोलर लगाउने काम भैरहेको छ । दुई साता भित्र सडक निर्माण सम्पन्न गर्ने लक्ष्य लिईएको ठेकेदार कम्पनीले बताएको छ ।
यसअघि करिव ८८ लाखको लागतमा मल्लरानी पहुँच मार्ग ट्रयाक खोलिएको छ । यस वर्ष पनि नियमित बजेट विनियोजन भएकाले मल्लरानी पर्यटन क्षेत्रमा थप पुर्वाधार निर्माण हुनेछ ।प्यूठान सदरमुकाम खलंगाको शिर मल्लरानीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न थालिएको छ । मल्लरानी प्राचिन मल्लकालिन ऐतिहासिक महत्वको क्षेत्र हो भने यहाँका प्यूठान जिल्लाका अधिकांस क्षेत्र, छिमेकी जिल्ला र धौलागिरी हिमश्रृखलाको अवलोकन गर्न सकिन्छ ।