पैसै पैसा बोकेको विमान दुर्घटनाग्रस्त, ७ जनाको मृत्यु

खानेकुरा, मोटरसाइकल र नगद बोकेको एक मालवाहक विमान दक्षिण सुडानको राजधानी जुबास्थित विमानस्थलबाट उड्नेबित्तिकै दुर्घटनाग्रस्त भएको छ । चार यात्रु र तीन विमान कर्मचारीको मृत्युको पुष्टि भएको छ ।
एन्टोनोभ एन–२६ विमान देशको उत्तरपश्चिममा रहेको अवेल शहरतर्फ जाँदै थियो । सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियो र तस्वीरमा विमानका टुक्रा दुर्घटनास्थलमा छरिएको देखिन्छ । ‘विमानमा कुल आठजना थिए । एकजना यात्रुको ज्यान जोगिएको छ र उनको स्वास्थ्यअवस्था राम्रो छ,’ यातायातमन्त्री मादुत बियारले एएफपी समाचार संस्थालाई बताए । ‘अन्य यात्रु र विमान कर्मचारीको मृत्यु भएको छ ।’
विमानमा गैरसरकारी संस्थाका कर्मचारीलाई तलब लिनका लागि नगदका साथै मोटरसाइकल र खानेकुरा थियो । दुर्घटनतापछि नगद खस्दा टिप्नका लागि मानिसहरू दौडिएका थिए । दुर्घटनाको कारणका विषयमा छानबिन गरिँदैछ ।