पार्टीभित्रको विवाद छलफलबाटै हल हुन्छ : प्रधानमन्त्री

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि राजनीतिक दलभित्र हुने बहस र विवादलाई निष्कर्षमा पुर्याउने काम सम्बन्धित पार्टी र नेताहरूको भएको बताएका छन् । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आफ्नै पार्टीभित्र पछिल्लो समय चर्किएको विवादका विषयलाई लिएर पार्टीभित्र हुने छलफल, बहस र विमतिहरू नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रियासमेत भएको भन्दै ती सबै समस्या समाधान हुने दृढता व्यक्त गरेकाछन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार नेपाल टेलिभिजनबाट सम्बोधन गर्दै महामारी र प्राकृतिक विपत्तिका समयमा पनि राजनीतिक बहस किन भन्ने प्रश्नहरू उठ्नु अन्यथा नभएको र त्यसलाई हल गर्ने काम पार्टी र नेताहरूकै भएकामा जोड दिएकाछन् । उनले यस्ता विषयहरू सम्बन्धित दल र तिनका नेताहरूले आपसी छलफलबाटै सुल्झाउने भन्दै त्यसका लागि धैर्य र संयम आवश्यक रहने बताए ।

प्रधानमन्त्री ओलीले अहिले चर्चामा रहेका राजनीतिक परिदृश्यका कारण कतिपयमा राजनीतिक स्थिरता, स्थायित्व र स्थापित प्रणालीप्रति चिन्ता र संवेदनशीलता बढेको भन्दै समस्या समाधान गर्न आफूले हदैसम्मको प्रयास गर्ने बताएका छन् । ‘म आश्वस्त पार्न चाहन्छु, आम नेपालीका बीच आपसी एकता बढाउन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान उचो बनाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न मेरा तर्फबाट दृढ अडान र हदैसम्मको प्रयास हुनेछ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवनरक्षाको दायित्वबाट विमुख बन्न कसैले पनि नमिल्ने बताएका छन् । उनले रोग र भोकबाट देशवासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पनि पछि नहट्ने दृढता व्यक्त गरे ।प्रधानमन्त्री ओलीले बाढी, पहिरोलगायत प्राकृतिक विपद्का स्थितिमा सरकारका संयन्त्रले सम्पूर्ण सामथ्र्यसहित कुनै कसर नराखी जोखिम मोलेर उद्धार र सहयोग गरिरहेको पनि बताएका छन् ।

केही दिनयता देशका विभिन्न भागमा अविरल वर्षाका कारण आएको बाढीपहिराले पुयाएको जनधनको क्षतिले आफूलाई स्तब्ध र दुःखित तुल्याएको बताउँदै उनले प्रभावितको उद्धारमा आवश्यक सुरक्षाकर्मी परिचालन तथा संघीय, प्रदेश र जिल्लास्थित विपद् समितिबाट राहत प्रदान गरिएको तथा प्रभावितलाई जोखिममुक्त स्थानमा स्थानान्तरण गर्नेसमेत व्यवस्था मिलाइएको बताए ।

प्रधानमन्त्री ओलीले बन्दाबन्दीलाई केही खुकुलो पारिएसगै राजधानीमा नै संक्रमणको धेरै जोखिम बढिरहेकाले समुदायमा फैलिन गए भयावह अवस्था सिर्जना हुने भएकाले सबैमा थप गम्भीरता, अनुशासन र सचेतना आवश्यक रहेको बताए ।ओलीले सरकार कोरोना महामारीको असर एवं त्यसबाट अर्थतन्त्रमा आइपरेको प्रभावलाई व्यवस्थापन र पुनरुत्थानमा लागेको भन्दै संक्रमितमध्ये हालसम्म ज्यान गुमाउनेको संख्या ३५ जना अर्थात् ०.२१ प्रतिशत भएको पनि उल्लेख गरे ।

उनले कोरोना रोकथामका लागि सुरक्षाकर्मीसगै चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य जनशक्ति अग्रिम मोर्चाका ‘सिपाही’का रूपमा उपचारमा अहोरात्र खटिएको र यही बलले महामारीलाई परास्त गरिरहेको जनाएका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *