पशुपतिनाथ मुख्य शिवलिङ्गको तस्बिर सार्वजनिक भएपछि मन्दिर परिसरमा मोबाइल फोन लान निषेध

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पशुपतिनाथ मन्दिरभित्रको गर्भगृहस्थित मुख्य शिवलिङ्गको तस्बिर गत साता सामाजिक सञ्जालमार्फत् केही व्यक्तिहरूलाई पठाइएपछि विवाद उत्पन्न भएको छ।

नियमानुसार पशुपतिनाथ मन्दिर परिसरभित्र तस्बिर खिच्न पाइँदैन।

उक्त तस्बिर पशुपति क्षेत्र विकास कोषका एक नवनियुक्त पदाधिकारी पनि सदस्य रहेको एउटा ह्वाट्सएप समूहमा प्रसार गरिएपछि कतिपयले उनलाई पशुपतिनाथको गरिमा घटाएको आरोप लगाएका छन्।

कोषका सदस्य अर्जुनप्रसाद बास्तोलाले आफूमाथि लागेको आरोपको खण्डन गर्दै आफूलाई बदनाम गर्न केही व्यक्तिहरूले चरित्रहत्या गर्न खोजेको दाबी गरेका छन्।

विवाद के हो ?
गत साता पशुपति सन्त सम्मेलन नामक एउटा ह्वाट्सएप समूहमा पशुपतिनाथको मुख्य शिवलिङ्गको तस्बिर पठाइपछि विवाद सुरु भएको जानकारहरू बताउँछन्।

उनीहरूका अनुसार उक्त समूहमा पशुपतिनाथ मन्दिर र धार्मिक सङ्घसंस्थामा आबद्ध व्यक्तिहरू रहेका छन्।

त्यो तस्बिर उक्त समूहमा रहेका व्यक्तिहरूले देखेपछि कतिपयले निषेधित क्षेत्रभित्र तस्बिर खिचेर गुह्य साधना गरिने स्थलको अनादर गरेको भन्दै आपत्ति जनाएका थिए।

अझ उक्त समूहको एड्मिनका रूपमा कोषमा सदस्यमा हालै नियुक्त भएका अर्जुनप्रसाद बास्तोला रहेको देखिएपछि धेरैले उनैले तस्बिर खिचेर सार्वजनिक गरेको ठाने।

गत शनिवार देशसञ्चार डट कमले पशुपतिका मूलीहरूद्वारा नै पशुपतिको अपमान शीर्षकमा बास्तोलालाई जोडेर समाचार प्रकाशित गरेपछि यो विषयमा पशुपतिनाथसँग सम्बन्धित व्यक्तिहरूबीच थप चर्चा हुन थालेको थियो।

बास्तोला भने एक व्यक्तिले उक्त तस्बिर समूहमा पठाएर आफू समूहबाट बाहिरिएको र आफूलाई एड्मिन बनाइदिएको दाबी गरेका छन्।

बास्तोलाले यो घटनामा आफू पीडित भएको भन्दै साइबर अपराधअनुसार प्रहरीमा उजुरी गर्ने बताए।

उनले नेपालमा पनि पशुपतिनाथ आस्थाको केन्द्र भएकाले सुरक्षा व्यवस्था गर्नका लागि त्यस्तो गरेको बताउँदै त्यसलाई सबैले पालन गर्नुपर्ने बताए।

कि त यसलाई बहसको विषय बनाएर सबैलाई फोटो खिच्न पाउने व्यवस्था हुनुपर्‍यो,उनले भने।

तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालयका उपकुलपति तथा पूर्वी संस्कृतिका ज्ञाता विदुर पौडेल कानुनमा व्यवस्था नभए पनि पूर्वीय दर्शनमा कतिपय कुराहरू गोप्य राखिनुपर्छ भन्ने मान्यतामा पशुपतिनाथको मूल शिवलिङ्गको तस्बिर खिच्न नदिइएको बताउँछन्।

उनका अनुसार भोजन, शौच, मैथुन र योगलाई गोप्य ढङ्गबाट गर्नुपर्छ भन्ने विभिन्न धर्मशास्त्रहरूमा लेखिएकाले पशुपतिनाथमा पनि त्यस्तो व्यवस्था गरिएको हो।

कतिपय अवस्थामा तन्त्र र पूजाआजाका कुराहरू अरूले थाहा नपाऊन् भनेर पनि गोप्य राख्ने गरिएको थियो,उनले भने,तर कतिपय कुराहरू अहिले खुला पनि भएका छन्। तर त्यसो भन्दैमा पशुपतिको गरिमा नै घटाउने गतिविधि गर्नु उचित होइन।बिबीसी नेपाली

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *