न्युरोडको चर्चित फोटो कन्सर्नमा बन्छन् नक्कली कार्ड र परिचयपत्र

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नक्कली सवारीचालक अनुमतिपत्र (लाइसेन्स) निवारण गर्न सरकारले प्रयोगमा ल्याएको ‘स्मार्ट लाइसेन्स’ मात्र होइन, सशस्त्र प्रहरीको परिचयपत्रसमेत नक्कली बन्ने गरेको खुलेको छ । न्युरोडस्थित स्थापित फोटो स्टुडियो फोटो कन्सर्न प्रालिबाट नक्कली स्मार्ट लाइसेन्स र सशस्त्र प्रहरीको नक्कली परिचयपत्र बरामद भएपछि यो तथ्य बाहिरिएको नया पत्रीकाले लेखेकाे छ ।

प्रहरीले कन्सर्नबाट फोटोग्राफर कुमार तण्डुकार, सेल्स अफिसर अनन्त गुरुङ, मार्केटिङ अफिसर अशोक कार्की, क्यासियर मोहन यादवलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार कन्सर्नमा छापा मार्दा लक्ष्मण झाँक्रीको नाममा बनेको स्मार्ट लाइसेन्स, झाँक्रीकै नाममा बनेको सशस्त्र प्रहरीको परिचयपत्र बरामद भएको छ । प्रहरीले बल्खुस्थित आशिष फोटो स्टुडियोका सञ्चालक सुवास भनिने बुद्धिबहादुर रोका र नक्कली लाइसेन्स लिने दीपक ब्लोनलाई पनि पक्राउ गरेको छ ।

अनुसन्धानमा संलग्न महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार कन्सर्नबाट नक्कली स्मार्ट कार्ड बनाउने मेसिन, परिचयपत्र छाप्ने प्रिन्टर, कार्ड काट्ने कटर, लाइसेन्स डिजाइन गर्न प्रयोग गरिएको हार्ड ड्राइभलगायतका सामग्रीसमेत बरामद भएको छ । महाशाखा प्रमुख एसएसपी सहकुल थापाले कन्सर्नले नक्कली लाइसेन्स तथा सशस्त्र प्रहरीको नक्कली परिचयपत्र बनाउने गरेको पुष्टि भएको बताए । उनले भने,‘फोटो कन्सर्नमा हामीले छापा मार्‍यौँ । त्यहाँबाट नक्कली स्मार्ट कार्ड, सशस्त्र प्रहरीको नक्कली परिचयपत्र, कार्ड छाप्न प्रयोग हुने प्रिन्टर, कटरलगायतका सामग्री फेला पर्‍यो ।’

प्रहरीका अनुसार कन्सर्नले यसअघि पनि थुप्रै नक्कली स्मार्ट कार्ड तथा सरकारी कार्यालयको नक्कली परिचयपत्र बनाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । महाशाखाका डिएसपी दुर्गा दाहालले कन्सर्नबाट अवैध गतिविधि पहिलेदेखि नै हुँदै आएको अनुसन्धानबाट देखिएको बताए ।

 ३० हजारमा स्मार्ट कार्ड 
प्रहरीका अनुसार केही दिनअघि सर्लाही लालबन्दी–१५ का २७ वर्षीय दीपक ब्लोन पुतली सडकमा ट्राफिक कारबाहीमा परे । ट्राफिक प्रहरीले उनको स्मार्ट लाइसेन्स नियन्त्रणमा लियो । चिट लिएर उनी घर फर्किए । सोही चिट लिएर बुधबार ब्लोन लाइसेन्स लिन महानगरीय ट्राफिक प्रहरी महाशाखा पुगे । चिट दिएर लाइसेन्स खोज्न लगाए । ट्राफिक प्रहरीले लाइसेन्स खोज्यो । फेला पनि पर्‍यो । तर, ट्राफिक प्रहरीले शंकास्पद देखेर लाइसेन्स दिएन ।

शंकास्पद लाइसेन्सलाई ट्राफिक प्रहरीले निरीक्षणका लागि डिटेक्टर मेसिनमा हाल्यो । मेसिनले उनको लाइसेन्स नक्कली भएको पुष्टि गर्‍यो । प्रहरीले ब्लोनलाई पक्राउ गर्‍यो । सोधपुछका क्रममा उनले सो लाइसेन्स बल्खुस्थित सुवास भनिने बुद्धिबहादुर रोक्काको फोटो स्टुडियोबाट लिएको बताए । यसका लागि ३० हजार रुपैयाँ भुक्तानी गरेको पनि उनले बताए । थप अनुसन्धानका लागि ट्राफिक प्रहरीले उनलाई महानगरीय अपराध महाशाखाको जिम्मा लगायो । महाशाखाको टोलीले रोक्कालाई पनि पक्राउ गर्‍यो । अनुसन्धानका क्रममा रोक्काले सो लाइसेन्स फोटो कन्सर्नबाट छाप्ने गरेको बताए ।

अपर्याप्त कार्ड टिडेक्ट मेसिन 
ट्राफिक प्रहरीले उपत्यकाबाट मात्रै दैनिक दुई हजारभन्दा धेरै सवारीचालकलाई कारबाही गर्छ । यस क्रममा प्रहरीले ब्लु बुक र लाइसेन्स नियन्त्रणमा लिने गर्छ । पुरानो लाइसेन्स र ब्लु बुकको हकमा ट्राफिक प्रहरीले नक्कली भए/नभएको परीक्षण म्यानुअल्ली नै गर्ने गर्छ । तर, स्मार्ट लाइसेन्सको हकमा भने डिटेक्टर मेसिन प्रयोग गर्नुपर्ने हुन्छ । पछिल्ला दिनमा बरामद भएको धेरैजसो लाइसेन्स स्मार्ट कार्ड छन् । तर, ट्राफिक प्रहरीसँग परीक्षणका लागि जम्मा दुईवटा मात्रै डिटेक्टर मेसिन छन् । जसले एकपटकमा एउटा मात्रै कार्ड रिड गर्न सक्छ । कारबाहीमा परेकाजति सबै कार्ड परीक्षण गर्ने हो भने ट्राफिक प्रहरीसँग भएको दुईवटा मेसिनले पुग्दैन ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *