नोबेल अस्पतालमा उपचाररत थप दुई संक्रमितको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विराटनगरको नोबेल अस्पतालमा उपचाररत कोरोना भाइरस कोभिड १९ संक्रमित थप दुई जनाको मंगलबार मृत्यु भएको छ। नोबेल शिक्षण अस्पताल र मोरङ सहकारी अस्पतालमा उपचार गराइरहेका एक वृद्ध पुरुष र अर्की वृद्धा महिलाको ज्यान गएको हो। मृतकमध्ये वृद्ध सुनसरी इटहरी र वृद्धा मोरङको रंगेलीका हुन्।

इटहरी उपमहानगरपालिका-८ का ६५ वर्षीय वृद्ध पुरुषको दिउँसो ३ बजेतिर नोबेलमा मृत्यु भएको हो। अस्पताल प्रबन्धक नारायण दाहालका अनुसार फोक्सोको पुरानै समस्या रहेका उनलाई उपचारका लागि असोज २९ गते अस्पताल भर्ना गरिएको थियो।

स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा कात्तिक १ गते रिपोर्ट पोजिटिभ आएपछि थप उपचारका लागि नोबेलकै कोभिड अस्पतालमा भर्ना गरिएको उनको भनाइ छ। उपचारकै क्रममा वृद्ध पुरुषको मृत्यु भएको हो।

त्यस्तै मोरङको रंगेली नगरपालिका-३ की ८१ वर्षीया वृद्धा महिलाको पनि बिहान ११ बजेतिर मोरङ सहकारी अस्पतालमा मृत्यु भएको छ। ज्वरो आउने, रिंगाटा चल्ने र वान्ता हुने समस्या देखिएपछि वृद्धालाई उपचारका लागि असोज २७ गते अस्पताल भर्ना गरिएको थियो।

पीसीआर परीक्षण गराउँदा गत आइतबार रिपोर्ट पोजिटिभ आएको परिवारले जनाएको छ। वृद्धमा दमको पुरानै समस्या रहेको र पछिल्लो समय निमोनिया पनि थपिएको अस्पतालले जनाएको छ।

यसैबीच पछिल्लो २४ घण्टाभित्र विराटनगरमा मृत्यु हुने संक्रमितको संख्या नौ पुगेको छ। कोरोना पुष्टि भएपछि उनीहरुको विभिन्न कोभिड अस्पतालमा उपचार भइरहेको थियो।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *