नेपाल ट्रष्टको जमिन र सार्वजनिक सम्पत्ति लिजमा दिँदा भएको घोटाला सरकारले छानबिन गर्ने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाल ट्रष्टमातहत रहेका जमिन र सार्वजनिक सम्पत्ति लिजमा दिँदा भएको घोटाला सरकारले छानबिन गर्ने

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेपाल ट्रष्टमातहत रहेका जमिन र सार्वजनिक सम्पत्ति लिजमा दिँदा भएको भनिएको घोटालाबारे सरकारले छानबिन गर्ने बताउनुभएको छ ।

बालुवाटारमा शनिबार आयोजित प्रेस संगठन नेपालको राष्ट्रिय भेला तथा शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उहाँले यसअघिका सरकारले गरेको बदमासीलाई पनि वर्तमान सरकारसँग जोडेर प्रचार भइरहेको समेत बताउनुभयो । पहिले हचुवाका भरमा गोकर्ण रिसोर्टको जग्गा लिजमा लगाइएको ओलीले दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले पार्टी नेतृत्वको सफलताको प्रसंसा गर्न नसक्ने नेता विपक्षीले भन्दा अगाडि आएर विरोधमा मात्रै बोलेको आरोप पनि लगाउनुभयो ।

यसअघि नेकपाकै नेता भीम रावलले केही दिनअघि सम्पन्न नेकपा स्थायी समितिमा राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश २ मा नेकपा र राजपाले गठबन्धन गर्नेबारे आक्रोश व्यक्त गर्नुभएको थियो । त्यस्तै प्रधानमन्त्री ओलीले प्रदेश २ मा २०७४ मा भएको राष्ट्रियसभा निर्वाचनमा नेकपाले एक स्थानमा पनि नजितेको, अहिले राजपासँग सहमति भएपछि दुई सिट जित्ने पक्का भएको जिकिर गर्नुभयो । उहाले अहिलेको अवस्थामा सरकारको विरोध गर्नुको कुनै औचित्य नभएको बताउनुभयो ।

७० वर्षको अनुभवले मुलुक र पार्टी चलाइरहेको भन्दै ओलीले कुनै पनि हालतमा पार्टी र सरकारको डुंगा डुब्न नदिने स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले अहिले राजनीतिलाई विस्थापित गराउने र अराजनीतिक प्रवृत्ति बढाउने खेल भइरहेको पनि बताउनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड’ले तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका क्रममा गरिएको प्रतिवद्धताअनुसार नै नेकपा र सरकारले काम गरिरहेको बताउनुभयो । केही प्रतिक्रान्तिकारी शक्तिले अझै पनि परिवर्तनलाई उल्ट्याउने प्रयास गरिरहेको उल्लेख गर्दै उहाँले त्यो कुनै हालतमा सफल हुन नसक्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा महासचिव विष्णु पौडेलले पार्टी र सरकारको निर्देशन अनुसार प्रेस सङ्गठन प्रतिवद्ध भएर परिचालित हुनुपर्ने बताउनुभयो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सङ्गठनलाई पार्टीको गुट, वा उपगुट, यो नेता वा त्यो नेता नभनि पार्टीको वैचारिक कुरालाई आत्मसात गर्नुपर्ने बताउनुभयो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *