नेपालको झण्डा जलाएर गाली गलौज गरिएको नेपाली गीति भिडियो भाइरल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मंगलबार दिनभर सामाजिक सञ्जालमा एउटा गीति भिडियो र सोही भिडियोबाट निकालिएको फोटो भाइरल बनिरहेको छ । समुदायबीच घृणा फैलाउने र आपत्ति जनक शब्दहरु प्रयोग गरिएको गिती भिडियो सार्वजनिक भएपछि त्यसको चौतर्फी आलोचना पनि भइरहेको छ ।

मंगोल ग्याल्ज ली नाम गरेका र्यापरले आफै रचना गरी तयार पारेको ‘देशद्रोही’ नामको गीतको म्यूजिक भिडियोमा नेपालको झण्डा जलाएको दृष्य देखाइएको छ । उक्त भिडियो मंगल हप नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । म्युजिक भिडियोमा नेपालको झण्डा जलाइएको देखाइएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहसहित नेपालका शिर्ष नेताहरुको फोटो पनि जलाइएको छ । भिडियोमा शरणार्थी बाहुनछेत्री हो भन्दै प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, माधवकुमार नेपाल, पुष्पकमल दाहाल र पूर्व राजा ज्ञानेन्द्र शाह लगायतको फोटो जलाइएको छ । गीतमा आपत्तिजनक शब्दहरु समेत प्रयोग गरिएको छ ।

गीतको भिडियो भाइरल भए पनि भिडियोलाई लाइक भन्दा डिसलाइक गर्नेको संख्या अत्यधिक छ भने प्रतिक्रिया जनाउनेहरुले भिडियोप्रति असहमति जनाएका छन् । भिडियो सार्वजनिक भएसँगै कारवाही गरिनुपर्ने माग सामाजिक सञ्जालमा चर्को रुपमा उठेको छ ।

मकवानपुरको सल्लेरीमा रहेको विष्णु आधारभूत माध्यमिक विद्यालयको प्राङ्गणमा नेपालका झण्डा जलाइएको भिडियोमा देखिन्छ । भिडियोको थम्नेलमा देशद्रोही शरणार्थी बाहुन क्षेत्रीको हिन्दू झण्डा भन्दै जलाएपछि भन्ने शब्द राखिएको छ । मंगोलियन ¥याप नाम दिइएको सो गीतका रचनाकार र गायक मंगोल ग्याल्जे लि र एटिएम, भाषा खस र राष्ट्रियता नेपाली लेखिएको छ । यसअघि गीतमा अश्लिल शब्द प्रयोग गर्ने, प्रहरीको लुगा लगाएर आपत्तिजनक भिडियो बनाउनेलाई प्रहरीले समातेको थियो ।

तर यस भिडियोमा त देशकै झण्डा जलाइएको छ, देशका नेताहरुको फोटो जलाइएको र जातीय विभाजना ल्याउने गाली गलौज गरिएको छ । यस्तो गल्ती गर्नेलाई कस्तो सजाय हुन्छ भन्ने विषयमा धेरैको चासो बढेको छ । मुलुकी अपराध (संहिता) ऐन २०७४,को १५१ को दफा १ र २ अनुसार नेपालको राष्ट्रिय झण्डा जलाउने र च्यात्नेलाई तीन वर्षसम्म कैद वा ३० हजारसम्म जरिवाना वा दुवै हुने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *