निषेधाज्ञा अटेरी गरे कडा कारबाही गर्छौ :प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाण्डौ उपत्यकामा कोभिड–१९ सङ्क्रमणको स्थिति बढ्दै गएपछि तीन वटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका छन् ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि मानिसहरुको आवागमन ठप्प नपारे विकराल अवस्था आउन सक्ने देखिएको भन्दै तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मङ्गलबारको बैठकले बुधबार मध्यरातदेखि उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

काठमाण्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पूर्व सावधानीको रुपमा काठमाण्डौ उपत्यकामा तत्कालै मानिसको आवागमनलाई ठप्प नपार्ने हो भने विकराल अवस्था आउन सक्ने देखिएपछि तीन वटै जिल्लाको सुरक्षा समितिको बैठक बसेर निषेधाज्ञा जारी गरिएको बताए।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन २०२८ को दफा ६९३० बमोजिम बुधबार राति १२ बजेदेखि भदौ १० गते राति १२ बजेसम्मका लागि काठमाण्डौ उपत्यका भर अत्यावश्यक सेवा बाहेकका सबै सेवासहित मानिसहरुको आवागमन समेत बन्द गर्ने गरी निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञाको अवस्थामा औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन पाइने छैन । अत्यावश्यक सेवा तथा वस्तु बाहेकका सबै प्रकारका व्यापार व्यवसाय सञ्चालन गर्न पनि पाइने छैन । अत्यावश्यक सामग्रीलगायतका मालवाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक काठमाण्डौ उपत्यकाभित्र सवारी साधन प्रवेश गर्न नदिने र जिल्लाभित्र पनि सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न नपाउने गरी आदेश जारी गरिएको दाहालले बताए।

त्यस्तै कोभिड–१९ को रोकथाम, उपचार तथा वस्थापनसम्बन्धी कार्यमा खटिनुपर्ने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालयमा आउन र जानका लागि बिहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुकी ३ बजेदेखि साढे ५ बजेसम्म आवागमन गर्न दिने भएको छ ।

अत्यावस्यक वस्तु तथा सेवा अन्तर्गत औषधि, खाद्यवस्तुु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफुल, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वरेण्टीन, आइसोलेशन, फोहोरमैला व्यवस्थापन अस्पताल जाने आउने बिरामी र मृत्यु संस्कारका लागि प्रयोग गर्ने सवारी साधनका लागि पूर्व अनुमति आवश्यक पर्ने छैन ।

मेला, महोत्सव, जात्रा सञ्चालन गर्न, भेला हुन, भिडभाड गर्न, सभा जुलुस गर्न नपाउने निर्णय पनि भएको छ । त्यस्तै परम्परागत रुपमा भइ आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजाबाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघट गर्न पाइने छैन ।

शैक्षिक संस्था, प्रशिक्षण केन्द्र, ट्युशन सेन्टर, भाषा कक्षालगायतका क्रियाकलाप सञ्चालन गर्न समेत निषेध गरेको छ । सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, स्पा, स्विमिङ पुल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखानासमेत सञ्चालन गर्न पाइँदैन ।

फुटपाथ र ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यवसाय, कवाडी सङ्कलन, होटल, रेस्टुरेन्ट समेत सञ्चालन गर्न पाइने छैन । बैंकिङ सेवाका लागि भने भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन र सम्भव नभएमा न्यूनतम कर्मचारी राखेर सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन समेत आदेश गरेको छ ।

अत्यावश्यक सेवाका लागि घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्ने र न्यूनतम भौतिक दूरी कायम गर्न समेत निर्देशन दिएको छ । हवाई उडानबाट विदेशमा जानेहरुका लागि पासपोर्ट, भिसा, कन्फर्म हवाई टिकट हुनेहरु सिधै एअरपोर्ट जाने सवारी साधनको हकमा सहजीकरण गर्ने व्यवस्था मिलाउने भएको छ ।

अत्यावश्यक उपभोग्य वस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरुलाई कानुनबमोजिम कारबाही गर्ने निर्णय भएको समेत दाहालले बताए। आदेशको उल्लङ्घन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्नेमाथि पनि प्रचलित कानुनबमोजिम कारबाही हुने उहाँले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *