धरहरा पुनःनिर्माणका ७० कामदार क्वारेन्टिनमा

रासस – धरहरा पुनःनिर्माणका लागि बाहिरी जिल्लाबाट ल्याइएका ७० कामदारलाई क्वारेन्टिनमा राखिएको छ।
सरकारले गत चैत ११ गतेदेखि देश पूरै लकडाउन गरेपछि नियमित रुपमा काम गरिरहेका कामदार घर गएका थिए। रोकिएको काम अघि बढाउन पुनःनिर्माण गर्न थप कामदार सप्तरीबाट केही दिनअघि ल्याइएको थियो।
७० कामदारलाई क्वारेन्टिनमा राखिएको र पीसीआर परीक्षणपछि मात्र काममा लगाइने जनाइएको छ।कोरोना सङ्क्रमणको कारण पछिल्लो समय बाहिरी जिल्लाबाट ल्याइएका कामदारको कोरोना परीक्षणपछि मात्र काममा लगाउनका लागि क्वारेन्टिनमा राखिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले बताए।
पीसीआर परीक्षणपछि मात्र उनीहरूलाई काममा लगाइनेछ। उनले भने, “अहिले धरहराको पुनःनिर्माणको लागि ३५ कामदार नियमित रुपमा लागिरहेका छन्। हालसम्मा ३९ प्रतिशत काम सम्पन्न भएको छ।”